
आलोक भावुक
गढवा, १५ भदौ।
गढवा गाउँपालिका वडा नम्बर ४ रामनगर देउखुरीमा रहेको ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि रु. ११ हजार १११ आर्थिक सहयोग गरेको छ।
बाढी तथा पहिरोका कारण रसुवामा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्वसमेत भएकाले संस्थाले सहयोग गरेको जनाएको छ।
२०६८ सालमा स्थापना भएको ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय कारोबारसँगै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा समेत सहभागिता जनाउँदै आएको छ। संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग तथा सेवामूलक कार्य गर्दै आएको जनाएको छ।

संस्थाका व्यवस्थापक ओम प्रकाश चौधरीले विपद्को समयमा पीडितलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “रसुवामा भएको प्राकृतिक विपत्तिले धेरै परिवारलाई ठूलो पीडा दिएको छ। यस्तो कठिन परिस्थितिमा पीडित परिवारको दुःखमा थोरै भए पनि साथ दिनुपर्छ भन्ने भावनाले संस्थाको तर्फबाट सहयोग गरेका हौँ। आगामी दिनमा पनि संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय कार्यलाई निरन्तरता दिनेछ।”
सहकारी संस्थाले सदस्यहरूको आर्थिक विकाससँगै समुदायप्रतिको जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्दै सामाजिक कार्यमा सक्रिय हुँदै आएको चौधरीले बताउनुभयो।
संस्थाले गरेको सहयोगले विपद्मा परेका परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।



लाइभदाङ । १४ भाद्र २०८३, आईतवार २१:५५ बजे