
विप्लव महर्जन
सल्यान, ११ भदौ ।
सल्यानमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिद्धकुमाख गाउँपालिका–१ चाक्लीघाटस्थित राप्ती राजमार्गमा बिहीबार साँझ दुई मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब २० मिटर तल खोलामा खसेका हुन्।
बिहीबार साँझ करिब ५ बजेतिर रा४प ९४७१ र रा३प ४७९५ नम्बरका मोटरसाइकल चाक्लीघाट खोलामा खसेका थिए। दुर्घटनामा रा३प ४७९५ नम्बरको मोटरसाइकल चालक कुमाख गाउँपालिका–७ निवासी ३० वर्षीय डिल्ली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा रा४प ९४७१ नम्बरको मोटरसाइकल चालक बागचौर नगरपालिका–२ निवासी ३० वर्षीय धीरज घर्ती र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन बुढा घाइते भएका छन्। यस्तै, रा३प ४७९५ नम्बरको मोटरसाइकलमा सवार बागचौर नगरपालिका–२ निवासी १९ वर्षीय चन्द्रप्रकाश वली पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



लाइभदाङ । ११ भाद्र २०८३, बिहीबार २१:११ बजे