
दंगीशरण, १ मंसिर ।
‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरूका लागि घरायसी खाद्यान्न उत्पादन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम सोमबारदेखि दंगीशरण–३ चखौरा सङ्ग्रहालयमा सुरु भएको छ।
उक्त तालिम ब्याकवर्ड सोसाइटी एजुकेसन (बेश) को आयोजना तथा हेलेन केलर, भिटामिन एन्जल्स र IDE को आर्थिक सहयोगमा सम्पन्न भइरहेको छ।
तालिम उद्घाटन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले दैनिक जीवनमा “खाना चार सिद्धान्त”—रङ, मात्रा, विविधता र पोषण—को पालना अत्यावश्यक रहेको बताए। उहाँले स्थानीय करेसावारीमा उत्पादन हुने पोषणयुक्त खाद्यवस्तुहरूको उपयोग र महत्त्वबारे विशेष जोड दिए।
बेश संस्थाका जिल्ला कार्यसमिति सदस्य भरत अधिकारीले तालिमले समुदाय तहमा पोषण सम्बन्धी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। स्वागत मन्तव्य दिँदै बेश संस्थाका निर्देशक चुर्ण चौधरीले घरमै उत्पादन हुने तर सही पहिचान तथा उचित प्रयोग गर्न नसक्दा कुपोषण बढ्ने हुँदा तालिम आवश्यक रहेको उल्लेख गरे।
IDE नेपालका प्रोजेक्ट अफिसर सन्तोष शर्माले महिला स्वास्थ्य स्वयंसेवीहरू समुदायका ‘परिवर्तनका संवाहक’ भएकाले उनीहरूको क्षमता वृद्धि परियोजनाको प्रमुख लक्ष्य रहेको बताए।
तालिमको उद्देश्य स्थानीय रूपमा उत्पादन गर्न सकिने पोषणयुक्त खाद्यान्नको पहिचान, कुपोषण रोकथामका उपायहरू, घरायसी उत्पादनलाई पोषणसँग कसरी जोड्ने, र सन्तुलित तथा मात्रा मिलेको आहारबारे व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको छ।
दाङ जिल्लाका सातवटा स्थानीय तहबाट २२ जना महिला स्वास्थ्य स्वयंसेवीले तालिममा सहभागिता जनाएका छन्। कार्यक्रमको सहजीकरण ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ का संयोजक सुरेश चौधरी र IDE नेपालका प्रोजेक्ट अफिसर सन्तोष शर्माले संयुक्त रूपमा गरेका थिए।



लाइभदाङ । २ मंसिर २०८२, सोमबार २०:५८ बजे