राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण

घोराही, ०५ भदौ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौंले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई एक थान भेन्टिलेटर हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाको पत्र अनुसार सचिबस्तरीय निर्णय बमोजिम टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको स्वास्थ्य उपकरण प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हो।

अस्पतालले भदौ ५ गते जारी गरेको पत्रमार्फत प्रतिष्ठानलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरी पठाइएको जानकारी गराएको छ। पत्रमा उल्लेख भएअनुसार Aeonmed  कम्पनीको एक थान भेन्टिलेटर प्रतिष्ठानलाई उपलब्ध गराइएको हो।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बाँस्तोलाले प्रतिष्ठानका डेपुटि म्यानेजर आत्मराम बस्नेतलाई उपकरण हस्तान्तरण गर्नु भएको थियो ।

बास्तोलाद्वारा हस्ताक्षरित पत्रमा प्रतिष्ठानले उक्त भेन्टिलेटरलाई आफ्नो PAMS System मा आम्दानी बाँधी प्रमाणित गर्नसमेत अनुरोध गरिएको छ।

भेन्टिलेटर हस्तान्तरणसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर अवस्थाका बिरामीको उपचार तथा आकस्मिक सेवामा थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक, सह प्राध्यापक डा। सुरेश रसाइलिले बताउनुभयो ।