
दंगीशरण,२२ जेठ ।
नेपाली सेनाको ज्वालादलगण घोराहीको लगानीमा दंगीशरण गाउँपालिका–६ बागरमा निर्माण गरिएको थारु भुयारथान शुक्रबारएक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको छ। थारु समुदायको संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाको उद्घाटन मध्यपश्चिम पृतनाका पृतनापति उपरथी हिक्मत बहादुर बिष्ट र दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले संयुक्त रूपमा गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी बिष्टले नेपाली सेना र स्थानीय समुदायबीचको सम्बन्धलाई थपसुदृढ बनाउने उद्देश्यले शीघ्र प्रभावी योजना अन्तर्गत भुयारथान निर्माणमा लगानी गरिएको बताउनुभयो। उहाँले नेपाली सेनाको आर्थिक स्रोत तथा ज्वालादल गणका सकलदर्जाको योगदानबाट निर्माण सम्पन्न भएको उक्त संरचनाले थारु समुदायको मौलिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारु समुदायको बाहुल्यता रहेको पालिकामा नेपाली सेनाले सांस्कृतिक तथा धार्मिक महत्वको संरचना निर्माण गरी हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले थारु समुदायको परम्परागत सामाजिक संरचना र हकहितको संरक्षणका लागि मटवा ऐनसमेत पारित गरिसकेको जानकारी दिनुभयो।
नेपाली सेनाको ज्वालादलगण घोराहीको शीघ्र प्रभावी आयोजना अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटबाट दंगीशरण गाउँपालिकाको समन्वयमा उक्त भुयारथान निर्माण गरिएको हो। मध्यपश्चिम पृतनाको निर्देशन तथा १९ नम्बर वाहिनी अड्डाको सुपरिवेक्षणमा २०८२ चैत ६ गतेदेखि निर्माण सुरु भई२०८३ जेठ १६ गते सम्पन्न भएको जनाइएको छ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि, थारु समुदायका अगुवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा गाउँपालिका अध्यक्ष गिरीले थारु संस्कृतिको संरक्षण तथा भुयारथान निर्माणमा योगदान पुर्याएको भन्दै मध्यपश्चिम पृतना, ज्वालादलगण घोराही तथा १९ नम्बर वाहिनी अड्डा तुलसीपुरलाई कदरपत्र प्रदान गर्नुभएको थियो।
स्थानीयवासीले भुयारथान निर्माणसँगै थारु समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा परम्परागत मूल्य–मान्यताको संरक्षण र पुस्तान्तरणमा थपसहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार १९:१५ बजे