दाङमा रासायनिक मलको कालोबजारी गर्ने विरुद्ध मुद्दा दर्ता

दीपक बोहरा
दाङ, ३ भदौ ।
दाङको घोराहीमा सरकारी अनुदानको रासायनिक मलमाथि कालोबजारी गरेको अभियोगमा चार जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकील कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिका वडा नं. ७ का ५४ बर्षीय सोहनलाल चौधरी, घोराही ५ धर्नाका ३८ बर्षीय कृष्ण बहादुर चौधरी, बंगलाचुली गाउँपालिका वडा नं. ५ निवासी ५४ बर्षीय दिवाकर खत्री र सोही ठाउँका ५४ बर्षीय खिम बहादुर घर्ती विरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत अभियोगपत्र दायर गरेको हो ।

उनीहरुले गएको साउन २८ गते राति करिब ८ बजेतिर बजे घोराही उपमहानगरपालिका वडा नं. ७ सिसहनियामा रा १ त ४०७८ नम्बरको ट्याक्टरमा डीएपी र युरिया मल ढुवानी गरि विक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

ट्याक्टरबाट ५३ बोरा डीएपी र ४ बोरा युरिया मल बरामद गरिएको थियो । उक्त मल अजय स्मृती उपभोक्ता सहकारी संस्थाको नाममा ल्याइएको भए पनि लक्षित किसानहरूलाई वितरण नगरी महंगोमा विक्री गरिरहेको पाईएको प्रहरीको प्रतिवेदनका आधारमा अभियोगपत्र दायर गरिएको हो ।


उनीहरुले उक्त सहकारीकालागि कृषि सामग्री लिमिटेडबाट यसरी मल लिएका थिए । बंगलाचुली गाउँपालिका वडा नं।५ स्थित उक्त सहकारीमा उक्त मल नलिएर उनीहरुले घोराहीमै डीएपी दुई हजार नौ सय र युरिया एक हजार पाँचसयमा विक्री गरेको पाईएको थियो । २८ साउनमा उनीहरुले सहकारीकालागि भनेर १ सय ३० बोरा डीएपी र एकसय ७८ बोरा युरिया लिएको अभियोग पत्रमा उल्लेख गरिएको छ । युरिया ८ सय ६६ र डीएपी २ हजार तीनसय १६ का दरले कृषि सामग्रीबाट लिएका थिए । तर, त्यो मल प्रतिबादी कृषण चौधरीको ट्याक्टरमा राखेर यसरी विक्री गर्न लगिएको थियो ।

यसरी सरकारले तोकेको मूल्यभन्दा निकै बढी रकम असुल गरी कृषकहरूलाई मारमा पारेको प्रमाणहरू फेला परेपछि उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको हो । दायर गरिएको अभियोगपत्रमा प्रतिवादीहरूलाई ऐन बमोजिम कैद र जरिवानाको सजाय गर्न माग गरिएको छ । साथै, बरामद गरिएको मल जफत गरी सम्बन्धित सहकारी वा कृषि सामग्री कम्पनीमार्फत उचित मूल्यमा किसानहरूलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन समेत मागदाबी गरिएको छ ।