माओवादी एमसीसीको विपक्षमा

काठमाडौं
४ फागुन / नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्,‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिंदैन । जबरजस्ती रुपमा ल्याए विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।’


माओवादीले संसदमा एमालेको अवरोध कायमै रहेको भन्दै माओवादीले यो अवस्थामा कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने बतँएको छ । ‘एमसीसीमा राष्ट्रिय सहमति नजुटिकन यो प्रक्रिया अगाडि बढ्न सक्दैन । एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, कमसेकम सरकारमा रहेका दलहरुबीचमा सहमति हुनुपर्छ,’ उनले अघि भने, ‘सरकारले जबरजस्ती गर्न खोज्यो भने सहमति विना गर्ने सरकारले गठबन्धन तोड्ने कुरा हुन्छ । गठबन्धन तोडेर गएपछि सरकारमा रहने कुरा शायद आउँदैन ।’