लुम्बिनीमा स्थायी राजधानीको जग्गा तत्काल फुकुवा हुन्छः मुख्यमन्त्री केसी

दाङ
३ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी राप्ती उपत्यका क्षेत्रका जग्गा तत्काल फुकुवा हुने बताएका छन् । लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए ।

राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको समेत बताए । “१ बर्ष चार महिनादेखि स्थायी राजधानीमा भएको जमिन रोक्कालाई फुकुवा गर्ने तयारी गरेका छौं”,उनले भने ।

जग्गा एकीकरण आयोजना सञ्चालन भइरहेको र त्यसमा विज्ञहरुले सुझाब दिएको भन्दै अब तत्काल जग्गा एकीकरणको काम हुने समेत बताए । राप्ती उपत्यकामा स्थायी राजधानी घोषणा भएपछि त्यहाँ जग्गाको कारोबार बन्द गरिएको थियो । साथै मुख्यमन्त्री केसीले युद्ध स्तरमा स्थायी राजधानीको कामलाई अघि बढाउने समेत बताए । स्थायी राजधानीकालागि १ अर्ब बजेट आएको र त्यसको काम अगाडी बढेको समेत उनले बताए । स्थायी राजधानीकालागि गुरुयोजना अन्तिम चरणमा रहेको भन्दै सोही अनुसार काम हुने मुख्यमन्त्री केसीको भनाई छ ।

साथै उनले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको नारालाई सार्थकता दिलाउने गरि काम भइरहेको समेत बताए । शिक्षा, स्वास्थ्यलाई बढि प्राथमिकतामा राखेर आफूहरुले विकास निर्माणको कामलाई अघि बढाएको समेत मुख्यमन्त्री केसीको भनाई थियो । त्यस्तै प्रशासनीक क्षेत्रको कामलाई पनि चुस्तदुरुस्त बनाउन आफूहरु लागि परेको बताए ।

त्यस अवसरमा जग्गा एकीकरण आयोजनाका बारेमा न्याय परिषदका पूर्व सदस्य पदम बैदिकले प्रस्तुती राखेका थिए । उनले राजधानीकालागि खण्ड,खण्डमा रहेको जग्गालाई एउटै कित्ता बनाएर अगाडी बढ्न सुझाब दिए । साथै प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख अनन्तराज घिमिरेले प्रदेशको गुरुयोजनाको काम अन्तिम चरणमो पुगेको बताए । ‘ल्यान्ड फिलिङ’को काम पनि लगभग –लगभग अन्तिम चरणमा पुगेको बताए ।

त्यस अवसरमा प्रदेश सरकारले ४ बर्षमा गरेका कामको बृतचित्र पनि प्रकाशन गरिएको थियो ।


५७ जना विभूशीत
प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पु¥यायने ५७ जनालाई विभूषित गरेको छ । विभिन्न १० विधाका पदकबाट ५७ जनालाई विभूषित गरिएको हो । मुलुक परिवर्तन र गणतन्त्र प्राप्तिमा योगदान पुर्याएको भन्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पदक सहित विभूषित गरेका हुन् ।

जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तीप्रसाद आचार्यलाई प्रदान गरिएको छ । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाइ प्रदान गरिएको छ । सोही पदक रुकुम पुर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुबैजनाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका थिए ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी , गुलजार खान र रोल्पाकी लली रोका (तीनैजना शहीद) र बर्दियाकी निर्मला योगी (वेपत्ता) छन् । यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर क्षेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारि ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टिकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण‘क’बाट राजेन्द्र थापा , प्रदेश सेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेश सेवा समर्पण ‘ग’ २ जनालाई प्रदान गरिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ‘ख’ ४ जनालाई, उजिरसिंह दीप पदक ‘ग’ २ जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई, समाजसेवा श्री पदक ‘ग’ २ जनालाई, प्रदेश रत्न पदक ‘ख’ १ जनालाई, प्रदेश रत्न पदक ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई प्रदान गरिएको छ।

यस्तै प्रजापति गौतमी पदक ‘ख’ १ जनालाई, प्रजापति गौतमी पदक ‘ग’ २ जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ १ जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ १ जनालाई प्रदान गरिएको हो । त्यस्तै स्थापना दिवसमा सरकारका चार वर्षका प्रगति समेटिएको स्मारिका र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ । साथै प्रदेशको पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।