घोराही–सिमलतारा विद्युतीय सार्वजनिक यातायात सेवा नरोकिने: न्यौपाने

दाङ, १४ साउन ।
दाङमा सञ्चालन भइरहेको घोराही–रामपुर–सिमलतारा विद्युतीय सार्वजनिक यातायात सेवा कुनै पनि अवस्थामा नरोकिने अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले जनाएको छ। प्रालिका उपाध्यक्ष न्यौपानेले कानुनी प्रक्रिया पूरा गरेर सेवा सञ्चालन गरिएको भन्दै विरोधका कारण सेवा बन्द नहुने स्पष्ट पार्नुभयो।

हाल दैनिक तीनवटा विद्युतीय सार्वजनिक सवारीसाधनमार्फत सेवा दिँदै आएको प्रालिले यात्रुलाई सहज, सुरक्षित र सर्वसुलभ यातायात उपलब्ध गराउने उद्देश्यका साथ सेवा विस्तार गरिएको जनाएको छ। घोराही–सिमलतारा रुटमा ८० रुपैयाँ भाडादर कायम गरी सेवा सञ्चालन गरिएको उल्लेख गर्दै उपाध्यक्ष न्यौपानेले केही अटो व्यवसायीहरूले अनावश्यक विरोध गरेर नागरिकले पाउनुपर्ने सहज सार्वजनिक सेवामा अवरोध सिर्जना गरिरहेको आरोप लगाउनुभयो।

उहाँका अनुसार सरकारले जारी गरेको रुट परमिट तथा यातायात व्यवस्था कार्यालयले तोकेको मापदण्डअनुसार दाङ जिल्लाभित्रका शहरी तथा ग्रामीण सडकमा सार्वजनिक यातायात सञ्चालन गर्ने कानुनी अधिकार प्रालिसँग रहेको छ। हामी रुट परमिटसहित कानुनी रूपमा सेवा सञ्चालन गरिरहेका छौँ। सम्बन्धित निकायले तोकेका सबै नियम पालना गरेर यात्रुलाई सेवा दिइरहेका छौँ, उपाध्यक्ष न्यौपानेले भन्नुभयो।


प्रालिले आगामी दिनमा दाङका विभिन्न ग्रामीण रुटमा समेत विद्युतीय सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले वातावरणमैत्री यातायातको विस्तारसँगै यात्रुले गुणस्तरीय र सहज सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा सार्वजनिक यातायात क्षेत्र थप आधुनिक, किफायती र वातावरणमैत्री बन्दै गएको उल्लेख गर्दै प्रालिले गाउँदेखि शहरसम्म सर्वसुलभ यातायात सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ। प्रालिका अनुसार नागरिकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको हो र कानुनी रूपमा प्राप्त अधिकारको प्रयोग गर्दै सेवा निरन्तर सञ्चालन गरिनेछ।