टरिगाउँ एयरपोर्ट स्तरबृद्धि भएपनि साँझ र विहान मात्रै प्लेन बस्न सक्छ: पोखरेल

तुलसीपुर, २० साउन ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको विस्तार प्राविधिक रूपमा चुनौतीपूर्ण रहे पनि असम्भव नरहेको बताए। उनले विमानस्थललाई १५ सय मिटरको धावनमार्गसहित विस्तार गर्न करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताए । त्यही अनुसार बजेट ब्यबस्थापन गर्न सक्ने नेतृत्व आबश्यक रहेको उनको भनाई छ । प्रेस चौतारी दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब पोखरेलले २०७२ सालमा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुलसीपुर विमानस्थल विस्तारको कार्यक्रम बजेटमा समावेश गरिएको बताए । तर, पछि नेपाली कांग्रेसको नेतृत्वमा भएको प्राविधिक अध्ययनले तुलसीपुर विमानस्थल विस्तार आर्थिक रूपमा सम्भव नरहेको र नारायणपुर क्षेत्र उपयुक्त हुने प्रतिवेदन दिएको उनले बताए । ‘अध्ययन गर्ने क्रममा उनीहरुले रिपोर्ट तयार गरे’,उनले भने‘त्यो रिपोर्टले के भन्यो भन्दाखेरि तुलसीपुर एयरपोर्ट विस्तार गर्न आर्थिक रुपमा सम्भव छैन, भन्यो ।’

प्राविधिक हिसाबले नारायणपुरको दक्षिण क्षेत्र नेपालकै उत्कृष्ट लोकेसन मानिएको भन्ने समेत अध्ययन भएको उनले   बताए । यद्यपी सोही क्षेत्रमा पनि अवरोध भएका कारण त्यहाँ काम अघि बढ्न नसकेको उनको तर्क छ ।


स्थानीय जनताको भावना तुलसीपुरमै विमानस्थल हुनुपर्छ भन्ने रहेकाले आफूले पछिल्लो समय तुलसीपुरकै लागि पहल गरेको उनले स्पष्ट पारे । हाल तुलसीपुर उपमहानगरपालिकाले तयार पारेको डिपीआर अनुसार अनुसार अहिलेको एलाइनमेन्ट परिवर्तन गरी उत्तर–दक्षिण बनाउँदा १५ सय मिटरको धावनमार्ग बन्न सक्ने देखिएको समेत उनले बताए । यद्यपि, बजेटको अवस्था भने निराशाजनक रहेको उनले बताए । जग्गा अधिकरण गर्न मात्रै १ अर्ब लाग्ने अनुमान भएपनि १/२ करोड बजेट पर्दा त्यसले काम नहुँने उनको भनाई छ ।

उनका अनुसार १५ सय मिटरको धावनमार्ग बने पनि दिउँसोको समयमा हावा चल्ने हुनाले प्लेन अवतरण गर्न कठिन हुने बताए ।‘पाँच अर्ब पैसा लगानी गर्न सक्ने नेतृत्व हो भने १५ सयको धावनमार्ग बन्छ’ उनले भने‘तर प्राविधिक हिसाबले हावा नचलेको समयमा बिहान र बेलुकी मात्र एयरपोर्ट चल्न सक्छ ।’