स्थानीय समस्या पहिचान गरी समाधानको लागि रणनीति तयार गर्न त्रिवेणीमा कार्यशाला

सल्यान, ११ भदौ ।
स्थानीय समुदायमा भएका समस्याहरुको पहिचान गरी समस्या समाधानको लागि वकालतिय रणनीति योजना तयार गर्नका लागि सल्यानको त्रिवेणी गाउँपालिकामा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । गाउँपालिकामा बालविवाह न्यूनिकरण गर्न, युवा बेरोजगारलाई कम गर्न र स्वास्थ्य सेवालाई प्रभावकारी गराउन वकालतीय रणनीति योजना तयार गरिने बताइएको छ । शुक्रबार देखि शुरु भएको कार्यशाला आइतबारसम्म चल्ने छ ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत समुदायमा आधारित सामुदायिक संस्था नागरिक सहभागिता केन्द्रले वकालतीय रणनीति योजनाकार्यशाला गोष्ठी सञ्चालन गरेको हो । पछाडी पारिएका समुदायका सवालहरुलाई उठान गरी स्थानीय स्थानीय, प्रदेश र संघीय सरकालाई घचघच्याउन आवश्यक रहेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले कार्यशालाले यस कार्यमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सुशासन प्रवद्र्धन गर्नका लागि स्थानीय सरकारलाई नागरिक स्तरबाट रचनात्मक सुझाव र खबरदारी आवश्यक रहेको बताउदै उनले योजना मागदेखि उपभोक्ता समिति गठन, योजना अनुगमन देखि फरफारकसम्म नागरिकको सहभागीता आवश्यक रहेकोमा जोड दिए । यसका लागि नागरिकहरु जागरुक हुनुपर्ने बताए ।

अरुलाई दोष दिनुअघि नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताउदै दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले स्थानीय सरकारलाई सहयोग र खबरदारी गर्न सक्नुपर्ने बताए । यस्तै नागरिक सहभागिता केन्द्र त्रिवेणीका अध्यक्ष प्रेम कुमारी बस्नेतले स्थानीय नागरिकहरुको वकालतीय ज्ञान, सीप अभिवृद्धिका लागि गोष्ठीले भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।


गोष्ठीमा सुशासनमा नागरिक सहभागिता कार्यक्रममा जिल्ला संयोजक गुमानसिंह नेपालीले सहजिकरण तथा अभिमुखिकरण गरिरहेका छन् । तालिममा २३ महिला र २ जनापूरुष गरी २५ जनाको सहभागिता रहेको नागरिक सहभागिता केन्द्र त्रिवेणीका सचिव पुजा भण्डारीले जानकारी दिइन् ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम सल्यानको त्रिवेणी, कपुरकोट, कालिमाटी, सिद्धकुमाख र दर्मा गाउँपालिकामा सञ्चालनमा छ । यूरोपियन न्यूनियनको सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौ, आइएम स्वीडिस डेभलप्मेन्ट पार्टनर काठमाण्डौ र ते दे जोम फाउन्डेसन काठमाण्डौको संयुक्त सहकार्यमा यो कार्यक्रम संचालनमा रहेको छ ।