पानी किनेर धान रोपाइँ गर्दै सल्यानका किसान

दाङ, १४ साउन ।
मध्यसाउन हुनै लाग्दासमेत पर्याप्त वर्षा नहुँदा सल्यानका किसानले पानी किनेर धान रोपाइँ गर्न थालेका छन्। लामो समयदेखि वर्षा नहुँदा सिँचाइका प्राकृतिक स्रोत सुकेपछि कुमाख गाउँपालिका– १, शान्तिबजारका किसानले मोटरबाट पानी तानेर प्रतिघण्टा एक हजार रुपैयाँ तिर्दै धान रोपाइँ गरिरहेका छन्।

स्थानीय मर्मखोलाबाट मोटर प्रयोग गरेर खेतमा पानी पुर्‍याइँदै आएको छ। भाडाको मोटरमार्फत पानी तानेबापत किसानले प्रतिघण्टा एक हजार रुपैयाँ तिरिरहेका स्थानीय केशव शर्माले बताए। मोटरबाट पानी तान्दा उत्पादन लागतसमेत बढेको उनको भनाइ छ। उनले भने, ‘खडेरीका कारण धान रोपाइँ ढिलो हुँदा किसान आर्थिक र मानसिक दुवै रूपमा चिन्तित बनेका छन्।’

विगत वर्षहरूमा असार महिनाभित्रै अधिकांश खेतमा धान रोपाइँ सम्पन्न हुने गरे पनि यस वर्ष वर्षा नहुँदा धेरै खेत अझै बाँझै छन्। वर्षायाममा सिँचाइको मुख्य आधार बन्ने मर्मखोला तथा आसपासका साना खोलाहरूमा पानीको सतह घटेपछि वैकल्पिक उपाय अपनाउन बाध्य भएको शर्माको भनाइ छ।


पानी किनेर खेती गर्नु रहर नभई बाध्यता भएको अर्का किसान रामकुमार लामिछानेले बताए। प्रतिघण्टा एक हजार रुपैयाँ तिरेर पानी तानिरहेका छौँ। ‘पाँच घण्टा मोटर चलाउँदा पनि एउटा खेत राम्रोसँग भिज्दैन,’ उनले भने। उनका अनुसार मर्मखोला र आसपासका खोलाको पानीमा निर्भर अधिकांश खेत यस वर्ष खडेरीका कारण समयमै रोप्न सकिएको छैन।

कुमाख गाउँपालिका– १ का ४०–५० घरको १०–१२ बिघा खेत मोटरबाट नै पानी तानेर रोपाइँ गरेको लामिछानेले बताए। शान्तिबजार, स्विकोट ज्युजा, बेलखेतदेखि चिसाखेतसम्म पानी किनेर नै धान रोपाइँ भएको उनको भनाइ छ।

पानी अभावका कारण रोपाइँ ढिलो हुँदा धान उत्पादनमा समेत कमी आउने चिन्ता किसानको छ। सिँचाइका लागि ठुलो रकम खर्च गर्नुपरेकाले उत्पादन लागत बढ्ने र त्यसले प्रत्यक्ष रूपमा किसानको आम्दानीमा असर पर्ने लामिछानेले बताए। कृषि नै मुख्य पेसा रहेको कुमाख क्षेत्रका किसान अहिले आकाशतर्फ हेर्दै पानीको प्रतीक्षामा छन्। स्थानीय किसानले तत्काल राहतका कार्यक्रमसँगै दीर्घकालीन सिँचाइ योजनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।