ग्रेट अरनीकोमा संसद अभ्यास

तुलसीपुर ,२९ मङ्सिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ग्रेट अरनीको माविमा कानुन शंकायमा अध्ययनरत विद्यार्थी एलिसा बुढाले नमुना संसदमा पेश गरिएको ‘शिक्षा विद्येयक’ माथि टिप्पनी गर्दै भनिन् ‘पहिले एसएलसी पास गरेका विद्यार्थीले खरिदारको परीक्षा दिन पाउथे, तर, अहिले कक्षा १० पास गरेका विद्यार्थीले किन दिन नपाउने ?’ यसको जवाफ नमुना संसदमा शिक्षा मन्त्री शंकर थापाले दिए ।

एलिसाजस्तै धेरै–धेरै प्रतिपक्षका नमुना सांसदहरुले टिप्पनी गरे भने सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए । त्यस्तै बीच–बीचमा नियमापत्ति पनि गरिरहेका थिए । यसरी नै शुक्रबार विहान विद्यालयको प्राङगणमा विद्यार्थीहरुले संसदको नमुना अभ्यास गरेका थिए । सोही विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले उक्त नमुना संसदको अभ्यास गरेका हुन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई प्रयोगात्मक ज्ञानमा जोड्न यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल विष्णुकुमार देवकोटाले बताए ।

नयाँ युवा,नयाँ सोँच संस्थाको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा सत्तापक्ष,प्रतिपक्ष, सभामुख,उपसभामुख, प्रधानमन्त्रीसहित संसदमा हुने सबै अंगहरु बनाएर कार्यक्रम गरिएको हो । संसदीय प्रणालीका विषयमा पनि कानुनका विद्यार्थीहरु जानकार हुनुपर्ने भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल देवकोटाले बताए । “विद्यार्थीलाई किताबी ज्ञान मात्रै भएर हुँदैन”,उनले भने “कानुनका विद्यार्थीले झनै धेरै प्रयोगात्मक गर्नुपर्छ, त्यसैले पनि हामीले यो कार्यक्रम आयोजना गरेका हौं ।”


कानुनका विद्यार्थीहरु अनुसन्धानमुखी,आवश्यकता अनुसार बोल्न सक्नु पर्ने भन्दै त्यसकालागि बोल्ने अभ्यास विकास गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उनले बताए। विद्यार्थीहरुले प्रत्येक शब्द–शब्दलाई विश्लेशन गर्न सक्नु पर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए । “कानुनका विद्यार्थीमा शब्दसंग खेल्न सक्ने क्षमता हुनुपर्छ”,उनले भने “त्यसकालागि यस्ता अभ्यास नियमित हुनुपर्छ ।” जति अभ्यास धेरै भयो, त्यति नै विद्यार्थीहरु पोख्त हुने उनको भनाई छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विष्णुकुमार आचार्य, नयाँ युवा,नयाँ सोच कार्यक्रममा प्रमुख प्रशिक्षक विनोद खत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक नबराज भण्डारीले गरेका थिए ।