दाङमा ६ बर्षीया बालिकामाथि बलात्कारको आरोपमा १३ बर्षीय बालक विरुद्ध मुद्दा दायर

दीपक बोहरा
दाङ, १३ साउन ।
दाङको घोराहीमा एक ६ बर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १३ बर्षीय बालक विरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकील कार्यालय दाङले जिल्ला अदालतमा उपमहानगरपालिका वडा नं.९ निवासी ति बालकलाई अभियोगपत्र दर्ता गरेको हो । गएको असार ३२ गते दिउँसो करिब १२ बजेतिर उक्त घटना भएको हो । पीडित बालिका र आरोपित बालक छिमेकी हुन् । पीडितका अभिभावकले दिएको जाहेरी अनुसार, बालिकालाई ललाई–फलाई घरमा कोही नभएको मौका छोपी कोठामा लगेर जबरजस्ती करणी गरिएको मुद्दामा उल्लेख छ ।

स्वास्थ्य परीक्षण र प्रमाण पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनको यौनाङ्गमा चोट र रातोपना देखिएको छ । साथै, घटनास्थलको मुचुल्का र संकलित प्रमाणहरूले समेत घटनाको पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ ।


पीडित बालिका १० वर्षभन्दा कम उमेरकी भएकाले उक्त संहिताको दफा २१९ (३) को खण्ड (क) बमोजिमको सजाय हुनुपर्ने माग गरिएको छ । यद्यपि, आरोपित व्यक्ति बालक १८ वर्ष मुनि भएकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ बमोजिम सजायमा छूट दिई कानून बमोजिमको बाल सुधार गृहमा राख्ने वा अन्य उचित आदेशका लागि मागदाबी गरिएको छ ।