स्वास्थ्य कार्यसम्पादनमा दंगीशरण जिल्लामै प्रथम, स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित

दंगीशरण, १३ साउन ।
दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वास्थ्य क्षेत्रको कार्यसम्पादन तथा मूल्याङ्कनमा जिल्लाका सबै स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको छ। उक्त उपलब्धिको अवसरमा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सातवटै वडाका ५१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई खादा, प्रशंसापत्र तथा दराज वितरण गरी सम्मान गरिएको थियो। साथै गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य शाखाका कर्मचारीलाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले जिल्लामै उत्कृष्ट नतिजा हासिल हुनु स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्तिको अथक मेहनत, समर्पण र सेवाभावको प्रतिफल भएको बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने सशक्त आधार भएको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, पोषण, सरसफाइ, महिला तथा बालबालिकाको संरक्षण, वातावरण संरक्षणदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा उनीहरूको योगदान अतुलनीय रहेको धारणा व्यक्त गर्नुभयो।

गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले महामारी तथा विभिन्न सङ्कटका समयमा अग्रपङ्क्तिमा रहेर समुदायको सेवामा निरन्तर खटिने महिला स्वास्थ्य स्वयंसेविकाको समर्पण प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि उनीहरूको मनोबल उच्च राख्न गाउँपालिका प्रतिबद्ध रहने बताउनुभयो।


कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट गोमा न्यौपाने, स्वास्थ्यकर्मीका तर्फबाट आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, कार्यपालिका सदस्य सीतारा नेपाली, वडा नं। ३ का अध्यक्ष शुक्लाल चौधरी, वडा नं। १ का अध्यक्ष रमेश भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले मन्तव्य व्यक्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गर्नु दंगीशरण गाउँपालिकाको साझा सफलता भएको उल्लेख गर्नुभयो। उहाँहरूले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर प्रमोद आचार्यले गर्नुभएको थियो।

दंगीशरण गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, जनस्वास्थ्य प्रवर्द्धन तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। गाउँपालिकाका अनुसार स्वास्थ्य सेवा सुदृढीकरणका लागि गरिएको निरन्तर प्रयासकै परिणामस्वरूप आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाभरका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको हो।