ग्याँसको कालोबजारी रोक्न नेकपा (बहुमत) को चेतावनी

दाङ, ११ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला समिति दाङले बजारमा देखिएको खाना पकाउने ग्याँसको अभाव र सम्भावित कालोबजारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चेतावनीपूर्ण प्रेस वक्तव्य जारी गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी सजकद्वारा जारी विज्ञप्तिमा नेपाल आयल निगमले इन्धनको आपूर्ति नियमित रहेको र कुनै अभाव नरहेको दाबी गरे तापनि दाङका बजारहरूमा सर्वसाधारणले खाना पकाउने ग्याँस सहजै नपाएको जनगुनासो व्यापक रहेको उल्लेख गरिएको छ । नागरिक र सञ्चार माध्यमबाट प्राप्त जानकारीका आधारमा पार्टीले सरकार र सम्बद्ध निकायहरूलाई सहज आपूर्तिको व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।


विज्ञप्तिमा भनिएको छ, राज्यले नियमित अनुगमन र नागरिकले सहज रूपमा ग्याँस लगायतका आवश्यक इन्धनको प्राप्ति गर्ने अवस्था सिर्जना नगरे हाम्रो पार्टी चुप लागेर बस्ने छैन । पार्टीले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र महँगी बढाउने जोकोहीलाई पनि जनकारबाही गर्ने चेतावनी प्रेस वक्तव्य मार्फत दिएको छ ।

नेकपा (बहुमत) ले राज्यका निकायहरूलाई समयमै नागरिकका गुनासाहरू सम्बोधन गर्न र जनतालाई कानुन उल्लंघन गर्ने वातावरण नबनाउन समेत विनम्रतापूर्वक अनुरोध गरेको छ । विगतमा पनि मिटरब्याजी, भ्रष्टाचारी र जनविरोधीहरू विरुद्ध संघर्ष गर्दै आएको दाबी गर्दै पार्टीले जनताको सुख, खुसी र न्यायका निम्ति जस्तोसुकै चुनौतीसँग जुध्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।