पार्टी परिवर्तन गरेकै बहानमा सम्राट सिमेन्टबाट गुरूङ निकालिए, काम गरेको ज्यालासम्म पाएनन्

भालुवाङ, ३० भदौ ।
दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन् ।

माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


विगत १ वर्ष देखि सम्राट सिमेन्टमा कार्यरत रहदै आएको र एक हप्ताको ज्याला समेत आफुले नपाएको गुरूङले गुनासो गरेका छन् । पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत आफ्नो माग सुनुवाई नभएको उनले बताएका छन् ।

अहिले काम गरेको पैसा माग्दा दिदैनौ भन्छन्, गुरूङले भने । मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुँदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाई नभएको हुँदा आफुले अहिले मानअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गुहार्नु परेको बताएका छन् ।