पहिले बलात्कारको मुद्दा, पछि आफैले अदालतमा बयान फेरेपछि…

दीपक बोहरा
दाङ, ११ साउन ।
दाङमा एक १८ बर्षीया युवतिले सुरुमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दिइन् । जबरजस्ती करणीकै कारण पेटमा ७ महिनाको बच्चा समेत भएको कुरा उनले खोलिन् । मुद्दा अदालतमा गयो । अदालतमा जाँदा बकपत्रमा आरोपित बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी घनश्याम विश्वकर्माले समेत ति युवतिको सहमतिमा करणी भएको स्वीकार समेत गरेका थिए । तर, पछि पीडित भनिएकी युवतिले पेटमा भएको बच्चा आफ्नै श्रीमानकै भएको र जबरजस्ती करणी समेत नभएको भनि अदालतमा बयान दिएपछि अदालतले बलात्कारको मुद्दा लागेका बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी घनश्याम विश्वकर्मालाई निर्दोष सावित ग¥यो । यही साउन ४ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले प्रतिवादी घनश्याम बिश्वकर्मालाई सफाइ दिएको हो ।

के थियो घटना ?
ति युवतिले २०८० मंसिर १४ गते साँझ तुलसीपुरबाट औषधि लिएर घर फर्कने क्रममा ती युवतीलाई बिश्वकर्माले आफ्नो अटोमा राखेर फुपुको घर पु‍¥याइदिने बहानामा चितलगैरा सामुदायिक वनमा लगी जवरजस्ती करणी गरेको भनि जाहेरी दिइन् । उक्त घटनाका कारण ती युवती ७ महिनाको गर्भवती समेत भएकी थिइन् ।

सुरुवाती अनुसन्धानका क्रममा प्रतिवादीले युवतीकै सहमतिमा करणी भएको स्वीकार गरे पनि अदालतमा भने आफूले करणी नै नगरेको र आफूलाई फसाउन झुठ्ठा उजुरी दिइएको दाबी गरेका थिए । उनले बच्चाको डीएनए परीक्षणको माग समेत गरेका थिए ।

मुद्दाले तब नयाँ मोड लियो जब पीडित युवती आफैँले अदालतमा पुगेर आफ्नो बयान फेरिन् । उनले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीले आफूलाई जवरजस्ती करणी नगरेको र श्रीमानले शंका गरी दबाब दिएका कारण झुठ्ठा मुद्दा हालेको बताएकी थिइन् । उनले आफ्नो पेटको गर्भ समेत श्रीमानकै भएको दाबी गरेकी थिइन् ।


घटनाको विवरण कागज गर्ने अन्य साक्षीहरूले पनि अदालतमा बकपत्र गर्दा पीडित र उनका श्रीमान्बीच सम्बन्ध राम्रो नभएको र श्रीमानले अर्को विवाह गरिसकेकाले श्रीमतीलाई छुटाउनका लागि दबाब दिई झुठ्ठा उजुरी दिन लगाएको बताएका थिए । यस्तै, चिकित्सकको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि युवतीको शरीरमा कुनै घाउचोट नदेखिएको उल्लेख थियो ।

अदालतले पीडित युवती र साक्षीहरू आफ्नो पूर्व कथनबाट पछि हटेको (होस्टायल भएको), स्वास्थ्य परीक्षणमा चोटपटक नदेखिएको र घटनाको लामो समयपछि मात्र उजुरी परेको आधारमा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी पक्षले आरोप पुष्टि गर्न नसकेको ठहर गरेको छ ।

यस फैसलासँगै पुर्पक्षका लागि दाङ कारागारमा थुनामा रहेका घनश्याम बिश्वकर्मालाई थुनामुक्त गरिएको छ ।