
दाङ, ११ साउन ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियाकी सुलोचना शेर्पाको कुनै समय युट्युव, फेसबुक टिकटक हेरेर दिन वित्ने गथ्र्यो । तर, अचेल दैनिकी फेरिएको छ। उहाँले युट्युव हेरेरै घरकै आँगनसँगै जोडिएको ११ कठ्ठा जग्गामा गरेको कागती खेति हेरचाहमै उनको दिन बित्ने गर्छ । कुनै समय केही व्यवसाय गर्ने हुटहुटी चलेकी सुलोचनालाई प्रविधि (युट्युब) ले व्यावसायिक मार्ग देखाएको हो।
विगत पाँच वर्षदेखि उनी यसै खेतीमा निरन्तर व्यस्त छन्, त्यति मात्रै होइन्, उनी अर्गानिक उत्पादनमा तिर पनि जोडिएकी छन् । केही समय अघि समाजमा वातावरणीय शिक्षाको विकास(सीड) संस्थाले अर्गानिक खेति सम्बन्धि तालिम र कृषि अवलोकन गराएपछि उनी गड्यौलाको मल उत्पादनमा लागे । त्यति मात्रै होईन्, रोग न्यूनिकरण गर्न घरेलु किटनाषक औषधी बनाउन तिर पनि तल्लिन भए ।
त्यो मल उत्पादन भएपछि उनले अर्गानिक तरकारी खेति गर्ने पनि सोँच बनाएकी छन् ।“सीडले तालिम दिएपछि मलाई धेरै सहज भएको छ, अहिले गड्यौला मल पनि उत्पादन गरिरहेकी छु”,उनले भनिन्“ यो मल उत्पादन भएपछि मैले अर्गानिक रुपमा तरकारी उत्पादन गर्ने काम पनि गर्छु ।”
उनले अहिले तीन सय कागतिका विरुवा रोपेकी छन् । गएका बर्ष मात्रै उनले दुईलाख आम्दानी गरिन् । यस बर्ष फल पनि धेरै भएकाले आम्दानी बृद्धि हुने अपेक्षा छ । कागतीको उत्पादनवाट आएको आम्दानीले उनलाई घरपरिवार चलाउन र आर्थिक तथा सामाजिक पक्षमा सुधार ल्याएको बताईन् ।“घरको अतिआबश्यक काममा सहयोग पुग्ने गरेको छ”,उनले भनिन्“ मेरा गाउँघर छरछिमेकी हरुलाई पनि कागती खेती गर्न भनिरहेकी छु ।”
तरकारी बेचेरै दुई वटा गाडी जोडेका सुन्दरलाल पनि अर्गानिक तिर
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेशाबारीमा वित्छ । हातमा कोदालो र मनमा जाँगर बोकेर उनी बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिन्छन् । उमेरले सात दशक नाघिसक्दा पनि उनको कृषिप्रतिको मोह भने १६ वर्षको युवाको जस्तै छ ।
सुन्दरलालले तरकारी खेती सुरु गर्दा उहाँ मात्र १६ वर्षको थिए । विगत ५ दशकभन्दा लामो समयदेखि उनी माटोसँग खेल्दै आएका छन् । “खेतीपाती मेरो जीवनको अभिन्न अङ्ग बनिसक्यो”उनले भने ।

उनले यो निरन्तरताले केवल घरको छाक मात्र टारेको छैन, बरु एउटा सफल किसानको परिचय पनि स्थापित गरेको छ। उनै सुन्दरलाल पनि अहिले अर्गानिक खेतिमा जोडिएका छन् । विगतमा उनले रासायनिक मल प्रयोग गर्ने गरेको भएपनि अहिले भने उनले प्राङगारिक मल नै प्रयोग गर्ने गरेका छन् । त्यति मात्रै होईन्, सीड संस्थाले सहयोग गरेपछि बंगुर पालन पनि सुरु गरे भने प्राङ्गारिक मलमा पनि जोडिए । त्यसले उनलाई कृषि क्षेत्रमा इट्टा थप्यो । “सीडले सहयोग गरेपछि मैले बंगुर पालन पनि गर्न थालेँ”,उनले भने“त्यसले मलाई थप इट्टा थप्यो ।”
उनले तरकारी खेतीबाट दुई वटा गाडी किन्न सफल भए । घरमै गाडी भएपछि उनका तीन जना छोराहरूले गाडी चलाउन सिकेर उहिले त्यही सीपका कारण तीन छोराहरु विदेशमा राम्रो आम्दानी गरिरहेका छन् ।
सुन्दरलालको करिब डेढ बिघा जग्गामध्ये १० कठ्ठामा व्यावसायिक तरकारी खेती भइरहेको छ । उनको बारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नको लागि सीडले टनेल समेत उपलब्ध गराएको थियो । जसले गर्दा उनले मौसमी तथा बैमौसमी काँक्रो, लौका, फर्सी, भान्टा, करेला, गोलभेडा र खुर्सानीलगायतका खेति गर्ने गरेका छन् । साथै सीडले प्रदान गरेको आर्गनिक तथा बन कृषि विकास र पशुपालन विकासको ज्ञान र सीप पश्चात कृषि कर्ममा थप टेवा पुगेको उनको भनाई छ । “यो क्षेत्रमा कामलाई निरन्तरता दिनको लागि मलाई बारम्बार उत्साहित र आत्वल बढाउँने सीड संस्था हो”,उनले भने“अझै पनि यस्ता कार्यक्रम ल्याइरहोस् ।”
टमाटर खेतीबाटै घर जग्गा जोडेका नवराजको नेतृत्वमा अर्गानिक खेति
कडा परिश्रम र निरन्तरता दिने हो भने माटोमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– तुलसीपुर १३ बखरियाका नवराज रावत । उनले विगत १९ वर्षदेखि व्यावसायिक रूपमा टमाटर खेती गर्दै आएक छन् । २०६४ सालदेखि आफ्नो भागमा परेको ८ कट्ठा जग्गामा तरकारी खेति सुरु गरेका थिए । त्यसपछि केही जग्गा भाडामा लिएर खेति गरेका उनले हाल डेढ विघा जग्गा मात्रै जोडेका छैनन्, करोड मूल्य बराबरको घर समेत बनाइसकेका छन् ।

उनै रावत अहिले अर्गानिक खेति तर्फ आकर्षित छन् । सीड संस्थाले समूहगत विकास र तरकारी खेतीको तालिम, बिभिन्न ठाउँमा कृषि भ्रमण गराएपछि उनी अर्गानिक खेतिमा मात्रै जोडिएका छैनन्, त्यस क्षेत्रका किसानको नेतृत्व समेत गरेका छन् ।“बिभिन्न तालिम, भ्रमण भएपछि हामीले अर्गानिक खेतिका बारेमा सिक्यौं”,उनले भने“त्यसले गर्दा हामीलाई यो खेति तर्फ आकर्षित गराएको छ ।”
उनले हाल मासिक एक लाख भन्दा बढि टमाटर खेतिबाटै आम्दानी गर्दै आएका छन् । सुरुमा रावत मात्रै एक्ला किसान थिए । हाल त्यहाँ कृषि खेतिप्रति आकर्षित हुनेको संख्या धेरै छ । हाल अर्गानिक खेति गर्ने ४५ किसानको उनले नेतृत्व गर्दै आएका छन् । जहाँ ६० विघा क्षेत्रफलमा कृषि खेति हुने गरेको छ । सीड संस्थाको प्राविधिक सहयोगमा अन्तर वडा स्तरीय सहभागितामूलक ग्यारेन्टी प्रणाली अर्थात (PGS) नेटवर्क निमार्ण भएको छ । किसानहरुले उत्पादन गरेको कृषि जन्यवस्तुहरुको जाँचवुझ र गुणस्तर स्वयं अफैले ग्यारेन्टी दिएर बजार व्यवस्थापन गर्नमा सहयोग र किसानहरुको हकहितमा समेत समन्वयको कार्य गर्नमा सोत सहयोग गरेको छ । जसले गर्दा किसानहरुलाई सहजत्ता आउँने आशा जागेको उनले बताएका छन् ।
आफै उत्पादन, छिटुवामा लगेर बजारमा विक्री
दाङ तुलसीपुर उपमहानगरपालका वडा नंं.१६ रत्गै निवासी सुनिता चौधरीले आफैले ८ कठ्ठा क्षेत्रफलमा तरकारी खेति गर्छिन । सीड संस्थाद्धारा गठित महिला समूहमा समावेश भएपछि आफ्नो क्षमता विकास गर्दै भाग्य कृषि सहकारी संस्थामा समेत उपाध्यक्ष समेत भइन् ।त्यही क्रममा उनले बिभिन्न सीप सिकेर यसरी तरकारी खेतिमा जोडिइन् । पाँच बर्ष अघि सीडले विभिन्न कृषि जन्य तालिमद्धारा सीप, ज्ञान र अनुभव प्रदान गरेपछि उनी जोडिएको तरकारी खेतिबाटै उनले बार्षिक ५ लाख भन्दा बढि आम्दानी गर्दै आएकी छन् । उनले आफै तरकारी उत्पादन गर्छिन्, भने आफै छिट्वामा बोकेर गाउँ तथा बजारमा लगेर विक्री गर्छिन् । यसरी उनले बाह्रै महिना तरकारी खेतिमै आबद्ध हुँदै आएकी छन् । उनले उत्पादन गर्ने सबै तरकारी अर्गानिक हो । गोठे मल, गड्यौला मल, झोल मल प्रयोग गरेर यसरी उहाँले तरकारी खेति गर्दै आएकी छन् ।

अहिले आएर अन्य महिला किसानहरुलाई समेत आर्गनिक खेती र कम्पोष्टमल तथा घरेलु किटनाषक औषधी बनाउँनमा प्रेरणा दिदै आएकी छन् । आफ्नो कृषि कर्मलाई निरन्तरता दिदै आर्थिक रुपमा कम्जोर भएका आफूहरु अहिले आत्मनिर्र्भर बन्न थालेपछि खुसी भएको बताईन् । उनले यो वाटो देखाउने कार्य सीड संस्थाले नै गरेको बताईन् ।
अर्गानिक खेतिको नेतृत्व गर्ने विनोद
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ रत्गैका विनोद चौधरी सीड संस्थामा समूह सहजकर्ता हुदै समाज परिचालक पदमा रहेर १६ वर्ष सम्म काम गरे । उनले फिल्डमा कार्यरत हुदाँ सीड संस्थाको दिगो कृषि परियोजनावाट धेरै सीप, ज्ञान र अनुभव लिने अवसर प्राप्त गरे । त्यही सीप अहिले उनले आफ्नै बारीमा प्रयोग गरिरहेका छन् । उनले हाल २ विघा भन्दा बढि क्षेत्रफलमा तरकारी खेति गर्छन् । ति मध्ये ५ कठ्ठामा उनले अर्गानिक खेति सुरुवात गरेका छन् । त्यति मात्रै होईन्, त्यो क्षेत्रमा अर्गानिक खेति गर्ने किसानको नेतृत्व पनि उनले नै गरेका छन् ।

उनी मात्रै सोही सोही ठाउँका १० जनाले मिलिजुली कृषक समूह बनाएर अर्गानिक खेति गर्न थालेका छन् । सीड संस्थाले तालिम, प्रबिधिक सहयोग तथा अन्य सामग्री सहयोग गरेपछि अहिले यसरी ब्यबसायिक रुपमा अर्गानिक खेति तर्फ लागेको उनी बताउछन् । जहाँ हाल टमाटर, काँक्रा, बोडी, सिमी, लौका, करेलालाई ब्यबसायिक खेतिका रुपमा अघि बढेको छ । “हाम्रै ठाउँमा उत्पादन गरेर प्राङगारिक कसरी बनाउन सकिन्छ, भनेर लागेका छौं”,उनले भने “ । हाल गड्यौला मल, झोल मल, गोबर मललगायतको प्रयोग गरेर यसरी अर्गानिक खेतिको अभ्यास गरेका छौं ।” तर, यसरी अर्गानिक रुपमा गरिएको खेति बजारीकरणमा भने समस्या हुने गरेको उनको गुनासो छ । “अर्गानिक रुपमा उत्पादन गरेको तरकारी चिल्लो देखिदैन, तर, विषादी प्रयोग गरेको तरकारी चिल्लो देखिन्छ”,उनले भने “त्यसले गर्दा ग्रहाकले चिल्लो तरकारी तिर मात्रै आँखा लगाउनु हुन्छ ।” गड्यौलालाई १२ सय रुपैँया किलोमा किन्ने र मल ३० रुपैँया किलोमा किनबेच हुने गरेको छ ।
२०७८ सालमा मिलिजुली कृषक समूह दर्ता गरेर यसरी त्यहाँ उत्पादन गर्न थालिएको हो । यसरी कृषिमा जोडिएपछि विनोद हाल नमूना योग्य किसान बन्न सफल भएका छन् । उनले किसानहरुलाई आफुले जानेको सीप, ज्ञान, अनुभवहरु किसानहरुको घर घरमा गएर सिकाउँने काम समेत गर्छन् । जसले गर्दा किसानहरुको लगानी बढाउँन र कृषी जन्यवस्तु गुणस्तरमा उत्पादन गर्नमा किसानहरुलाई उत्प्रेणा र हौसला प्राप्त भएको छ । विनोद चौधरी सामाजिक संघ संस्था लगायत स्थानीय सरकार र किसानहरुको नेटवर्क संगको सम्वन्ध विस्तार गर्दै सरकारी अनुदान लिएर समेत कृषि खेति गर्दै आएका छन् ।
दीपक चौधरी पनि गड्यौला मल उत्पादनमा
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.११ मोतिपुरका दीपक चौधरी पनि अर्गानिक तरकारी खेतिमा तल्लिन छन् । लामो समय तरकारी खेति गर्दै आएका चौधरीले विगतमा रासायनिक मल प्रयोग गर्दै आएका थिए । तर,पछिल्लो बर्ष यता प्राङ्गारिक मल प्रयोग गरेरै तरकारी उत्पादन गर्दै आएका छन् । “मैले तरकारी खेति गर्न थालेको १२ बर्ष भयो”,उनले भने “पहिले पहिले रासायनिक मल नै प्रयोग गर्ने गर्थे, अहिले प्राङगारिक मल प्रयोग गर्ने गरेको छु ।”

हाल उहाँले ७ कठ्ठामा तरकारी खेति गरेका छन् । हिउदे सिजनमा भने उनले १७ कठ्ठा भन्दा बढिमा काउली, बन्दा, लौका, करेला, आलुलगायतका तरकारी खेति गर्छन् । यसरी तरकारी खेतिबाटै उनले बार्षिक ४ लाख भन्दा बढि आम्दानी गर्दै आएका छन् ।“सीड संस्थाद्धारा कृषि तरकारी खेती, कम्पोष्टमल र गडौला मल तथा घरेलु विशादी औषधि बनाउँने सीप ज्ञान र अनुभव लिएँ” उनले भने“ अहिले आएर कृषि कार्य गर्नमा सजिलो भएको छ ।”
एकतिर लगानी कम र आम्दानी वढि भएको छ । स्थानीय श्रोत चिन्न र व्यवस्थापन गरी काम गर्न सकेको अवस्थामा आफ्नो वरीपरी प्रसस्त रुपमा श्रोत साधन रहेको उनले बताए । जसबाट आर्थिक लाभ र स्वरोजागर बन्न सकिने उनको अनुभव छ । यस्तो काुरमा सीडले गरेको योग्दानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा सीडले सहयोग गर्नुपर्ने समेत उनको अपेक्षा छ ।
अर्गानिक गर्दा किराले खाने समस्या हुन्छः जुगराम चौधरी
बजारमा पाइने विषादीयुक्त तरकारीलाई न्यूनिकरण गर्न तुलसीपुर उपमहानगरपालिका वडा नं.११ मोतिपुरका किसान जुगराम चौधरीले पनि यसरी प्राङगारिक मल नै प्रयोग गर्दै आएका छन् । नतासाह कृषि फर्ममार्फत काउली,आलु, टमाटर, बोरी, लौकाको ब्यबसाय गर्दै आएका उनले हाल प्राङ्गारिक मल प्रयोग गर्ने गरेको भएपनि कुनै बेला किरा लाग्ने गरेको छ । यसलाई नियन्त्रण गर्ने खालको घरेलु उपाय पनि आबश्यक रहेको उनी बताउछन् । १ विघा भन्दा बढि क्षेत्रमा तरकारी खेति गर्दै आएका उनले हाल गड्यौला मलको प्रयोग गर्दै आएका छन् । सीड संस्थाबाट तालिम लिएपछि उनले हालै मात्रै १५ केजी गड्यौला हालेका छन् ।

त्यति मात्रै होइन्, सीड संस्थाले टनेल, पम्पसेटलगायत सहयोग गर्दै आएको छ । त्यस्तै विउ बैंक र बैठक बस्नकालागि हल कोठा समेत सीडले निर्माण गरेको छ । तरकारीबाटै उनले बार्षिक ८ लाख भन्दा बढि आम्दानी गर्दै आएका छन् । मोती कृषक समूहमा आवद्ध भएका जगुराम चौधरी सीड संस्थावाट प्राविधिक सहयोग र सीप, ज्ञान, अनुभव लिने अवसर प्राप्त गरेका छन् । जसलाई सही सदुपयोग गर्दै आफ्नो खेतबारीमा कृषि कर्मको रुपमा अगाल्दै मौसमी तथा बेमौसमी तरकारी खेतीवाट लाभ लिएका छन् । जसले गर्दा आर्थिक सामाजिक अवस्था सुधार हुदै कृषि कर्म झनै बलियो बनाउँदै लगेको बताए ।
घरहरु बने : यज्ञ खत्री
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर निवासी यज्ञ खत्रीले तरकारी खेति गर्न लागेको २२÷२३ बर्ष जति भयो । उनले डेढ विघामा तरकारी खेति गर्छन् । उनले खुर्सानी, टमाटर, बन्दागोपी, लौका, फुलगोपीजस्ता तरकारी उत्पादन गरेर विक्री गर्ने गर्छन । उनले विगतमा रासायनिक मल प्रयोग गरेर नै यसरी तरकारी उत्पादन गर्ने गरेको भएपनि अहिले भने प्राङगारिक मल उत्पादन गरेर प्रयोग गर्ने गरेका छन् । झोल मल, घरायसी मल प्रयोग गर्ने गरेका छन् ।
सीडले रासायनिक मल कसरी गराउने, कसरी हाल्ने, हाल्दा के हुन्छ भन्ने कुराको तालिम प्रदान गरेपछि यसरी झोल मलको प्रयोग गर्ने गरेको उनको भनाई छ । उनले अर्गानिक कुराहरु प्रयोग गरेरै कसरी किरा मार्न सकिन्छ, भन्ने कुरा पनि थाहा पाएका छन् ।
सीड संस्थाले सहयोग गर्नुभन्दा पहिले खाने तरकारी समेत हुँदैनथ्यो । बाल बच्चा कसरी पढाउने भन्ने हुन्थ्यो, अहिले बाल बच्चाहरुलाई पढाउन पनि सहज भयो । त्यति मात्रै होइन्, अहिले तरकारी बेचेर गाउँमा पक्की घर समेत निर्माण भए । पहिले पक्की घरहरु पनि थिएनन् । तरकारीको कमाइले नै छोराछोरीलाई विदेशसम्म पठाउन सक्ने भएको समेत उनी बताउछन् । त्यस ठाउामा सीडले सहयोग गर्न थालेको १८ बर्षजति भएको उनले बताए ।
समान्य घरपरिवार रहेको खत्रीको सीड संस्थाको समूहमा आवद्ध पश्चात कृषि तालिम, अवलोकन भ«मणको सिकाई र अनुभव बुटलेपछि स्थापित किसानका रुपमा परिचित भएका हुन् । उनले अन्य किसानहरुलाई समेत कृषि कर्ममा लाग्न प्रेरित गरेका छन् । किसानहरुलाई आफुमा भएको सीप र ज्ञान समेत आदान प्रदान गर्दै नविन सोच र प्रविधिको प्रयोग गर्न थालेका छन् । साथै माटोलाई जोगाउँन र कृषिकर्मलाई पेशागत बनाउँनमा सीड संस्थाले सहयोग गरेको बताउछन् ।
चेतबहादुर डाँगी पनि अर्गानिक तिर
तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ कै किसान चेतबहादुर डाँगीले पनि अर्गानिक खेति गर्न थालेका छन् । स्थानीय रग्गे मिलिजुली समूहमा जोडिएर उनले अर्गानिक तरकारी खेति थालेका हुन् । हाल उनले काँक्रा, बोडी, टमाटर खेति गरेका छन् । सानो क्षेत्रफलमा तरकारी खेति गरेको भएपनि त्यसमा अर्गानिक बनाउने गरेको उनले बताए ।

उनले एक सिजनमा ४० क्वीन्टलसम्म टमाटर बेच्ने गर्छन । जसमा ८० रुपैँयाका दरले तीन लाख २० हजार भन्दा बढि आम्दानी गर्दै आएका छन् । तीन बर्षदेखि आफूले यसरी तरकारी खेति गरिरहेको डाँगीको भनाई छ । उनका अनुसार सीडबाट तालिम लिएपछि यसरी तरकारी खेतिमा जोडिएको हो । हाल उहाँले गड्यौला मल, झोल मल बनाउँदै आएका छन् ।
गड्यौला मलमा शोभा बस्नेत
तुलसीपुर १६ लहलौराकी शोभा बस्नेतले ब्यबसायिक रुपमा तरकारी खेति गर्दिनन् । तर, आफूले घरमा खाने तरकारीकालागि पनि अर्गानिक बनाउन थालेका छिन् । सीड संस्थाले दिएको गड्यौला मल र झोल मल प्रयोग गरेर आफूले घरमा खाने तरकारी अर्गानिक बनाउन थालेकी छन् । हाल उहाँले पाँच किलो अड्यौला मल तयार गर्न थालेकी छन् ।
गड्यौला मल उत्पादनमा दिलबहादुर चौधरी
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१० बन्गै निवासी दिलबहादुर चौधरी गड्यौला मल उत्पादनमा लागेका छन् । रासायनिक मल प्रयोग गरेर टमाटर, बोडी उत्पादन गर्दै आउनु भएका उनले अब गड्यौलाका मलबाट तरकारी उत्पादन गर्ने गरि तयारी गरेका छन् । सीड संस्थाले तालिम प्रदान गरेपछि उनले हाल ५ किलो गड्यौला हालेर मल उत्पादन गर्न लागेका छन् ।
सीडबाट ऋण लिएर बंगुर पालन गरेकी ‘शुभम चौधरी’
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ उत्तरकुररिया निवासी सुभम चौधरीले सीड संस्थाबाट एक लाख रुपैँया ऋण लिएर बंगुर पालन सुरु गरिन् । अहिले उनीसंग एउटा बंगुर र त्यसका पाँचवटा पाठापाठी छन् । त्यसबाट उनले लिएको ऋण तिरेर पनि एक लाख भन्दा बढि आम्दानी गर्ने लक्ष्य छ । पाठापाठी हुर्र्कीएमा एउटै पाठाको ४० हजारदेखि माथिको मूल्यमा विक्री हुने उनको भनाई छ । रतननाथ कृषि फर्म सञ्चालन गरेर उनले यसरी आम्दानी गरेकी हुन् । त्यो संगै उनी हाँस, लोकल कुखुरा पालन पनि गरिरहेकी छन् । यी सबै गरेर बार्षिक दुईलाखसम्म आम्दानी गर्ने गरेको उनी बताउछिन् । त्यसरी आम्दानी गरेको रकमले उनले दुइभाई छाराछोरीलाई सहजै पढाउन सकेको बताईन् । सीड संस्थाले तरकारीका विउ, तालिम प्रदान गर्दा त्यसबाट पनि आम्दानी हुने गरेको उनको भनाई छ ।
पाँच हजार ऋण लिएर सुरु गरेको पसलबाट घर खर्च चलाउँदै रामकृष्णी चौधरी
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररिया निवासी रामकृष्णी चौधरीले २०६० सालदेखि किराना पसल सुरु गरिन् । त्यतिबेला सीडबाट ५ हजार रुपैँया ऋण लिएर किराना पसल गरिन ।

त्यो ऋण पनि तिरेर पुनः १० हजार रुपैँया ऋण लिएर सामान थप गरिन । त्यतिबेला सानो लगानीबाट सुरु गरेको पसल अहिले घर खर्च चलाउन सहज भएको छ ।
विद्यालयमा पनि सीडको सहयोग
सीडले तरकारी खेतिमा मात्रै होईन्, विद्यालयमा पनि उत्तिकै सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित शान्ति मावि नवलपुरमा २०६४ सालमा भवन निर्माण गरेको छ ।

त्यहाँ विद्यालयको भवन नभएको अबस्थामा पाँच कोठे भवन निर्माण गरेको छ । जसले गर्दा विद्यार्थीहरुलाई पठन–पाठनमा निकै सहज हुने गरेको विद्यालयका प्रधानाध्यापक योगराज खत्रीले बताए ।
अमर माविमा शैक्षिक सामग्री वितरण
त्यस्तै तुलसीपुर ११ स्थित अमर मावि उरहरीमा बिभिन्न सीप मुलक कार्यक्रम गर्नुकासाथै शैक्षिक सामग्री वितरण कार्य पनि गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको प्रधानाध्यापक पदम वलीले बताए ।
सीडको शिक्षा, कृषि र सामाजिक उत्थानमा जोड
भागीराम चौधरी
कार्यकारी निर्देशक, सीड

दाङको तुलसीपुर उपमहानगरपालिका र दंगिशरण गाउँपालिकामा सीड संस्था र अन्तर्राष्ट्रिय दातृ निकाय डिकेए अष्ट्रियाबीचको विकास साझेदारीले सन् २०१५ देखि निरन्तर रूपमा सामाजिक रूपान्तरणका कार्यहरू गर्दै आएको छ ।सन २०२६ सम्म सञ्चालन हुने यस साझेदारीले विशेषगरी राज्य र समाजबाट पछाडि पारिएका, सिमान्तकृत र वहिष्करणमा रहेका वर्गको मानवअधिकार रक्षा र सामाजिक उत्थानलाई मुख्य लक्ष्य बनाएको छ । साझेदारी अन्तर्गत स्वच्छ वातावरणीय गुणस्तरीय शिक्षा, दिगो आर्गनिक कृषि प्रणाली र आपतकालिन विपद व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भइरहेका छन् ।यस कार्यक्रमले स्थानीय स्तरमा महिला उद्यमशीलता विकासका लागि घुम्ती कोषको व्यवस्था गर्नका साथै किसानहरूलाई आर्गनिक खेती र प्रविधि प्रयोगमा दक्ष बनाउन नेटवर्क निर्माण गरेको छ । शिक्षाको पहुँचबाट कोही पनि बञ्चित नहोउन् भन्ने उद्देश्यले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने र बालविवाह तथा घरेलु हिंसा जस्ता सामाजिक कुरीति विरुद्ध सचेतना अभियानहरू समेत सञ्चालन भइरहेका छन् । प्रकृती र मानव जीवनको पारस्परिक सम्बन्धलाई बुझ्दै जलवायु परिवर्तन न्यूनिकरणका लागि वृक्षारोपण र माटो संरक्षणका विधिहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गरिएको छ । स्थानीय सरकार र समुदायको प्रत्यक्ष समन्वयमा सञ्चालित यी कार्यक्रमहरूले सरोकारवालाहरूको क्षमता विकास र नेतृत्व निर्माणमा उर्जा प्रदान गर्दै आएका छन् ।
सामाजिक रूपान्तरण र सीमान्तकृत समुदायको उत्थान
राममोती चौधरी
अध्यक्ष सीड

विसं २०५८ सालमा स्थापना भएको सीड संस्थाले देशभक्त, शान्ति र सुशासनमा आधारित न्यायपूर्ण समाज निर्माणका लागि आफ्नो सक्रियता बढाउँदै लगेको छ । विशेषगरी गरिबीको रेखामुनि रहेका कृषि, मजदुर, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, एकल महिला र पछाडि पारिएका वर्गहरूलाई संगठित गर्दै उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि यो संस्था क्रियाशील रहँदै आएको छ । समावेशिता, सहभागिता र सशक्तीकरणको माध्यमबाट लक्षित वर्गलाई निर्णय प्रक्रियामा पु¥याउने र उनीहरूको मानव अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ संस्थाले स्थानीय, प्रदेश र केन्द्र सरकारका साथै विभिन्न अन्तर्राष्टिूय दातृ निकायहरूसँग समन्वय र सहकार्य गर्दै आएको छ । स्थानीय स्रोत र साधनको सही सदुपयोग गर्दै दिगो विकास र सामाजिक उत्थानका लागि सीडले निरन्तर रूपमा प्रभावकारी सेवा र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । न्यायोचित, समतामूलक तथा समृद्ध समाज निर्माण गर्न परिकल्पना बोकेको यस संस्थाले सीमान्तकृत समुदायको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूतिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।



लाइभदाङ । ११ श्रावण २०८३, सोमबार ११:५३ बजे