विद्यालयका जीर्ण भवन

तुलसीपुर,२५ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अबस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् ।

विद्यार्थीलाई निकै त्रास हुने गरेको छ ।“भवनहरु निकै जीर्ण अबस्थामा छन्, यो उपमहानगरपालिक भित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”,विद्यालय ब्यबस्थापन समितिका सदस्य बामदेव केसीले भन्नुभयो“यो विद्यालयको भौतिक सुधारकालागि हामीले पहल गरिरहेका छौं ।”

पुरानो विद्यालय भएपनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उहाँले गुनासो गर्नुभयो । केही महिना अघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गरिएको थियो ।


उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ जना विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनर्निर्माण तथा थप गर्नकालागि पहल भइरहेको वडाध्यक्ष शंकर खड्काले बताउनुभयो ।

उक्त विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आबश्यक रहेको उहाँको भनाई थियो । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अबस्थामा रहेकाले त्यसको सुधारकालागि पहल भइरहेको समेत उहाँले बताउनुभयो । त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ ।