
तुलसीपुर, ०३ साउन ।
शनिबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण आज आइतबार राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर वर्षाको प्रभाव कायम रहने देखिएको हो।
विभागका अनुसार राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भूभाग, लुम्बिनी र कर्णालीका धेरै पहाडी क्षेत्र तथा तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। यस अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको गोब्रेमा १०८।८ मिलिमिटर मापन गरिएको विभागले जनाएको छ।
विभागका अनुसार सोमबार पनि पहाडी भूभागका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहिरो, डुबान तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी–नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।



लाइभदाङ । ३ श्रावण २०८३, आईतवार २३:३१ बजे