
तुलसीपुर, ७ माघ ।
वडा कार्यालय भन्दा सबैलाई लाग्छ–जनताको सेवा गर्ने कार्यालय । अझ मुलुक संघीयतामा गएपछि त झन– वडा सरकार । जो जनतासंग प्रत्येक्ष जोडिने सरकार हुन् । जहाँ जनप्रतिनिधि निर्वाचित भएर आउछन् । जहाँ जनतालाई सेवा मात्रै होइन्, सुशासन कायम गर्ने सफथ पनि खुवाईएको हुन्छ ।
त्यही वडा सरकार‘भट्टी पसल’ जस्ता थिए, भन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर, तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ कुनै बेला भट्टी पसल जस्तै थियो । यो कुराको पुष्टि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष शिवानन्द डाँगीले गरे ।
“ मैले चुनाब अघि वडा कार्यालय भित्रको बिकृति, त्यहाँको फोहरलाई सफा गर्छु भनेको थिएँ”,उनले भने“त्यो फोहर के हो? थाहा छ तपाईलाई ?, वडा कार्यालय भित्र दिउसै रक्सी, भाले खाएको मैले भेटाए । म आउँदा वडा कार्यालय भट्टी पसल जस्तो भएको थियो । मैले चुनाब जितेर आएपछि ३ डोका भालेका भुत्ला उठाएर जलाएका हौं ।” माओवादी केन्द्र तुलसीपुर १६ ले भेलहीमा आयोजना गरेको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै उनले यस्तो बताए ।
अध्यक्ष डाँगीले आफू निर्वाचित भएर आउनु भन्दा पहिलेका जनप्रतिनिधिलाई कटाक्ष गर्दै यस्तो कुरा खुलाए । आफू आएपछि त्यस्ता बिकृति हटेको उनको भनाई थियो । उनले वडा कार्यालयको प्राङगन मात्रै नभई भित्रको अनुशासन सफा गर्ने गरि आएको बताए । त्यसको अनुभूति जनतालाई भएको समेत उनले विश्वास थियो ।“हिजो र आजमा कति फरक देख्नु भएको छ, मैले ब्याख्या गर्ने कुरा होइन ।”,उनले भने ।
उनी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित वडाध्यक्ष हुन् । यद्यपी उनी हाल माओवादी केन्द्रको लुम्बिनी प्रदेश परिषद सदस्य छन् । २०७४ सालको निर्वाचनमा पनि डाँगी माओवादी केन्द्रबाट उम्मेदावर बनेका थिए । त्यतिबेला जित निकाल्न नसकेपनि २०७९ को चुनाबमा भने वडाध्यक्ष निर्वाचित भएका थिए ।



लाइभदाङ । ७ माघ २०८१, सोमबार ०९:४१ बजे