
तुलसीपुर,०२ साउन ।
दाङको तुलसीपुर–६ स्थित हिमाल एकेडेमीका विद्यार्थीमा शनिबार एउटा छुट्टै रौनकता थियो। कोही नाच्दै थिए, कोही गाउँदै थिए त कोही आफ्ना अन्य प्रतिभा देखाउँदै थिए । जुन समारोह थियो–नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना नयाँ साथीहरूलाई स्वागत गर्न आयोजना गरेको उक्त समारोहले विद्यालय र विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाएको देखिन्थ्यो ।
त्यस अवसरमा प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका सदस्य बलदेव शर्माले मेहनत र लगनशीलता नै मानिसलाई सफलताको शिखरमा र्पुयाउने एकमात्र माध्यम भएको बताए । उनले विद्यार्थीहरूलाई आफ्नो निश्चित उद्देश्यमा केन्द्रित भएर अध्ययन गर्न प्रेरित समेत गरे ।
त्यस अवसरमा प्रधानाध्यापक मधुसुदन केसीले सैद्धान्तिक ज्ञान मात्र होइन, सीप र संस्कार हिमाल एकेडेमीले अपनाउँदै आएको शिक्षण पद्धति र विद्यालयको दर्शनबारे प्रष्ट पारेका थिए । एकेडेमीले सैद्धान्तिक ज्ञान मात्र नभई विद्यार्थीहरूलाई सीप र संस्कारयुक्त जनशक्ति बनाउन विशेष जोड दिँदै आएको समेत उनले बताए ।
विद्यार्थीहरूको रुचि र चाहनालाई मध्यनजर गर्दै उनीहरूलाई शिक्षण सिकाइका साथै विभिन्न रचनात्मक क्रियाकलापहरूमा निरन्तर संलग्न गराउनु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाई थियो ।
विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शिक्षकहरू बासुदेव आचार्य, उमेश यादव र छात्रा शिक्षा विश्वकर्माले पनि शुभकामना दिएका थिए ।
कक्षा १२ की छात्रा कोपिला शाहीको अध्यक्षता , अञ्जु रेउलेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।



लाइभदाङ । २ श्रावण २०८३, शनिबार २१:१७ बजे