राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा केही मत क्रस, २ मत बदर

दीपक बोहरा
दाङ, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । बुधबार दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणाम अनुसार गठबन्धन अन्तर्गत सत्तारुढ दल अन्र्तगत नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन् ।

महिला तर्फका उम्मेदवार गैरेले प्रदेश तर्फ २१६० र स्थानीय तहतर्फ २२१४ गरि ४३७४ मत प्राप्त गरेकी थिइन । भने अन्य समुदायका शर्माले प्रदेश तर्फ २११२ र स्थानीय तहतर्फ २२३२ गरि जम्मा ४३४४ र दलित समुदायका विश्वकर्माले प्रदेश तर्फ २१६० र स्थानीय तर्फ २१९६ गरि जम्मा ४३५३ मत प्राप्त गरि विजयी भएका हुन् ।

त्यस्तै एमालेको तर्फबाट अन्य समुदायका दाङ घोराहीका रामदयाल गुप्ताले प्रदेश तर्फ १७७६ र स्थानीय तर्फ १६०२ गरि ३३७८ मत, महिला तर्फका बाँकेकी भारती खनाल उपाध्यायले प्रदेश तर्फ १७२८ र स्थानीय तर्फ १५८४ गरि ३३१२ र गुल्मीका कृष्ण सुनारले प्रदेश तर्फ १७२८ र स्थानीय तहतर्फ १६२० गरि जम्मा ३३४८ मत प्राप्त गरेका थिए । लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद मध्ये सबैको मत खसेको थियो, भने स्थानीय तहतर्फ २१५ मत मध्ये राप्रपाका दुई प्रमुख, उपप्रमुख बाहेक सबैको मत खसेको थियो ।

क्रसमत आयो, मत बदर
राष्ट्रियसभा निर्वाचनमा केही मत क्रस देखिएको छ । महिला तर्फ गठबन्धनका गैरेले प्रदेशसभाबाट एक सांसदको मत बढि प्राप्त गर्न सफल भएकी छिन् । प्रदेशमा गठबन्धनका ४४ जनाको ४८ मतभारका दरले जम्मा मत २११२ थियो । तर, गैरेले २१६० मत प्राप्त गरेकी थिइन् । जुन मत ४५ सांसदको हो ।

स्थानीय तहमा भने गैरेको एक मत बाहिर गएको देखिन्छ । गठबन्धनका १२४ स्थानीय तह प्रमुख र उपप्रमुख मध्ये गैरेले १२३ जनाको मत मात्रै प्राप्त गरेकी छिन । उनले स्थानीय तहबाट २२१४ मत प्राप्त गरेकी थिइन । एमालेका उम्मेदवार खनालले भने ३६ प्रदेश सांसदको जम्मा मत १७२८ प्राप्त गरेकी थिईन् । प्रदेशमा एमालेका ३७ सांसदको मत हो । प्रदेशमा एक जना स्वतन्त्र सांसद अजय शाही छन् । ति सांसदको मत गैरेलाई गएको अनुमन गरिएको छ । स्थानीय तहमा एमालेले ८८ जनाको दाबी गरेको थियो । सोही अनुसार नै मत प्राप्त गरेको छ । महिला तर्फ स्थानीय तहका दुई मत बदर भएका थिए ।


त्यस्तै अन्य समुदायमा गठबन्धनका उम्मेदवार शर्माले प्रदेश तर्फ ४४ जना प्रदेश सांसदको मत प्राप्त गरेका छन् । उनले प्रदेशतर्फबाट २११२ मत प्राप्त गरेका थिए । स्वतन्त्र सांसदको मत एमालेका उम्मेदवारलाई गएको देखिन्छ । एमालेका ३६ प्रदेश सांसद मध्ये अन्य तर्फका एमालेका उम्मेदवार राम दयाल गुप्ताले ३७ सांसदको मत प्राप्त गरेका छन् । स्थानीय तहमा पनि गठबन्धनका उम्मेदवार शर्माले १२४ जनाको मत प्राप्त गरेका छन्, भने एमालेका उम्मेदवार गुप्ताले ८९ जनाको मत प्राप्त गरेका छन् ।

दलित तर्फ गठबन्धनका उम्मेदवार तुलप्रसाद विश्वकर्माले प्रदेश तर्फ गठबन्धनको मत भन्दा १ मत बढि प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४५ जना प्रदेश सांसदको मत प्राप्त गरेका छन्, भने एमालेका कृष्ण सुनारले ३६ जना प्रदेश सांसदको मत प्राप्त गरेका छन् । त्यस्तै स्थानीय तहतर्फ दलितका उम्मेदवार विश्वकर्माले १२२ जनाको मत प्राप्त गरेका छन्, भने एमालेका सुनारले ९० मत प्राप्त गरेका छन् । यसमा गठबन्धनको २ मत क्रस भएको देखिन्छ ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिँदैछ । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गरी सक्नु पर्ने व्यवस्था गरेको छ ।

मतदान गर्न हेलिकप्टरमा
दुई मतदाता मतदान गर्न हेलिकप्टरबाट समेत आएका थिए । नवलपरासी प्रतापपुर गाउँपालिकाकी कार्यबहाक अध्यक्ष (उपाध्यक्ष) अन्जुकुमारी चौधरी र पाल्पा रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय हेलिकप्टर चढेर मतदान गर्न दाङ आएका हुन ।

काँग्रेसका तर्फबाट निर्वाचित भएका उनीहरु काठमाडौंमा अस्पतालमा उपचाररत थिए । त्यस्तै दुई जनालाई एम्बुलेन्सको प्रयोग गरी मतदान स्थलसम्म ल्याईएको थियो । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो ।