तुलसीपुरमा जंगली च्याउको तरकारी खाँदा एक को मृत्यु

तुलसीपुर, ०२ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३, बल्लेमा जंगली विषाक्त च्याउको तरकारी खाँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना बिरामी परेका छन्।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया दिपा पुन रहेकी छन्। स्थानीय वीरबहादुर बुढा मगरका अनुसार थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

घटना असार ३१ गते दिउँसो भएको हो। जंगलबाट संकलन गरी ल्याइएको जंगली च्याउ पकाएर दुई परिवारका सात जनाले सेवन गरेका थिए। च्याउ खाएपछि ७५ वर्षीया दशरथी पुन, उनका ३८ वर्षीय छोरा डम्मरबहादुर पुन, ४० वर्षीया दिपा पुन, ३६ वर्षीय तिलक पुन, ५ वर्षीय विपिन पुन, १२ वर्षीय बिबेक पुन र सुमन बुढाथोकी बिरामी परेका थिए।


बिरामीमध्ये दिपा पुनको उपचारका क्रममा मृत्यु भएको हो भने दशरथी पुन, बिबेक पुन, विपिन पुन र सुमन बुढाथोकी उपचारपछि घर फर्किसकेका छन्। डम्मरबहादुर पुन र तिलक पुनको घरमै सामान्य उपचार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था हाल सामान्य रहेको आफन्तले जानकारी दिएका छन्।

स्थानीयले जंगलमा उम्रिएको जंगली च्याउ विषाक्त हुन सक्ने भएकाले पहिचान नभएको च्याउ सेवन नगर्न आग्रह गरेका छन्। स्वास्थ्यकर्मीले पनि जंगली च्याउको सेवन गर्दा विषाक्तता हुने जोखिम उच्च रहने भएकाले सावधानी अपनाउन सबैलाई अनुरोध गरेका छन्।