
तुलबहादुर कवँर मगर
मसुरिया, ३२ असार ।
दाङको राप्ती गाउँपालिकाले विपद्का बेला उद्धारमा खटिने प्रहरीलाई आवश्यक सामग्री प्रदान गरेको छ। गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी मसुरियालाई विपद् उद्धारका सामग्री उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले बिहीबार इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने र अस्थायी ट्राफिक प्रहरी पोस्ट भालुबाङका प्रहरी वरिष्ठ नायब निरीक्षक प्रेमप्रसाद पोख्रेललाई सामग्री हस्तान्तरण गर्नु भएको हाे।
गाउँपालिकाले लाइफ ज्याकेट, डोरी, स्ट्रेचर, बञ्चरो, साबेल, गैँती, पानी बुट, हेल्मेट, आगो निभाउने यन्त्र, हँसियालगायतका सामग्री प्रदान गरेको छ।
विपद्का बेला तत्काल उद्धार तथा राहत कार्यमा प्रहरीलाई खटिन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सुबास भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी, डुबान,सडक दुर्घटना, आगलागीलगायतका विपद्का घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुनेछ।



लाइभदाङ । ३२ असार २०८३, बिहीबार २१:३२ बजे