विद्यार्थीले गरे बजार अनुगमन

तुलसीपुर,३० असार ।
कक्षाकोठाको चार पर्खालभित्र किताबका पाना पल्टाउने विद्यार्थीहरू मंगलबार हातमा डायरी र कलम बोकेर बजार पसे । उनीहरू कुनै सामान किन्न होइन, बरु बजार कसरी चल्छ र एउटा उपभोक्ताले कस्ता अधिकार पाउँछन्, भन्ने व्यावहारिक ज्ञान लिन दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित बिजौरी बजार पुगे ।

जनता संस्कृत माध्यमिक विद्यालय र जनकल्यान मावि दुधरासमा गठित उपभोक्ता हित क्लबका विद्याथहरूले यसरी बिजौरी बजारको अनुगमन गरेका हुन् । बजारका ३२ वटा विभिन्न पसलहरूको सूक्ष्म अध्ययन र अवलोकनका क्रममा विद्यार्थीहरूले केवल सैद्धान्तिक कुरा मात्र सिक्न पाएनन्, बजारको वास्तविक अवस्थालाई नजिकबाट नियाल्ने मौका पाए । क्लबकी सदस्य प्रतीक्षा चौधरीले अनुगमनका क्रममा विशेषगरी होटलहरूमा सरसफाइको कमी पाइएको र सुधारका लागि सुझाव दिइएको बताउनुभयो ।

अर्का विद्यार्थी सोनु नेपालीका अनुसार व्यवसाय दर्ता प्रक्रिया र सरसफाइको अवस्थाबारे व्यावहारिक रूपमा धेरै कुरा बुझ्ने अवसर मिलेको बताउनभुयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सामुदायिक तथा निजी विद्यालयहरूमा गठित ‘उपभोक्ता हित क्लब’ मार्फत विद्यार्थीहरु यसरी बजार गएर पसलहरुको बैधानिकता, उपभोक्ता अधिकारको प्रयोग, खाद्य स्वच्छता र व्यवसाय सञ्चालनबारे अनुगमन तथा अवलोकन गरेका थिए ।


बालबालिकाको नेतृत्व विकास गर्ने र उनीहरूलाई बजार प्रणालीबारे सानै उमेरदेखि जानकार बनाउने उद्देश्यले वडाले यो अभियानको सुरुवात गरेको हो ।

वडा नम्बर १८ का अध्यक्ष माधव वलीका अनुसार बालबालिकाहरूलाई बजारको विस्तार, व्यवसाय सञ्चालनको प्रक्रिया र खाद्य सुरक्षाबारे बुझाउनु आजको आवश्यकता हो । यसले विद्यार्थीहरूको नेतृत्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष वलीले बताउनुभयो ।

विजौरी सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी केशवप्रसाद शर्माले वडासँगको समन्वयमा स्वच्छ बजार र उपभोक्ता अधिकारबारे चेतना जगाउन यो क्लब गठन गरिएको जानकारी दिनुभयो ।