
तुलबहादुर कँवर मगर
भालुबाङ, ३० असार ।
दाङको राप्ती गाउँपालिकाले ‘एक विद्यार्थी, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई करिब ८ हजार फलफूलका कलमी बिरुवा वितरण गरेको छ।
विद्यार्थीमार्फत प्रत्येक घरमा फलफूलका बिरुवा रोप्ने, वातावरण संरक्षणलाई विद्यालय तहबाटै जीवनशैलीसँग जोड्ने तथा भविष्यमा फलफूल उत्पादन र पोषण सुरक्षामा योगदान पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
अभियानअन्तर्गत आँप, अम्बा लगायत विभिन्न जातका कलमी बिरुवा विद्यार्थीलाई वितरण गरिएको छ। विद्यार्थीले ती बिरुवा आफ्नै घरमा रोपेर संरक्षण गर्नेछन्।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले अभियानको उद्देश्य बिरुवा बाँड्नु मात्र नभई त्यसलाई हुर्काएर उत्पादनसँग जोड्नु रहेको बताउनुभयाे।
उहाँका अनुसार बिरुवाबाट फल उत्पादन हुन थालेपछि बिक्रीबाट प्राप्त हुने आम्दानीको केही हिस्सा सम्बन्धित विद्यालयको खातामा जम्मा गर्ने अवधारणा अघि सारिएको छ। उक्त रकम आर्थिक रूपमा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्न सकिने उहाँले बताउनुभयाे।
‘बिरुवा रोप्नु मात्रै उपलब्धि होइन, त्यसलाई हुर्काएर फल दिने अवस्थासम्म पुर्याउनु नै अभियानको सफलता हो,’ अध्यक्ष विष्टले भन्नुभयाे, ‘विद्यार्थी, अभिभावक, विद्यालय र समुदाय सबैले अपनत्व लिएर संरक्षण गरे प्रत्येक घरमा फलफूलका बिरुवा पुग्ने मात्र होइन, त्यसले भविष्यमा आम्दानीको स्रोत पनि बनाउनेछ।’
उहाँले सानै उमेरदेखि वृक्षारोपण र संरक्षणको संस्कार विकास गर्न सके वातावरणीय चुनौती न्यूनीकरण हुनुका साथै प्रकृतिप्रतिको जिम्मेवारीबोध पनि बढ्ने बताउनुभयाे।
गाउँपालिकाका अनुसार अभियानले स्थानीय स्तरमा फलफूल उत्पादन बढाउने, बजारबाट खरिद गर्नुपर्ने निर्भरता घटाउने तथा दीर्घकालीन रूपमा गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यससँगै हरियाली विस्तार, जैविक विविधता संरक्षण र स्वच्छ वातावरण निर्माणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
यसअघि गाउँपालिकाले वडा नं. ८ स्थित शंकर सामुदायिक वनसँगको सहकार्यमा करिब २ हजार फलफूलका बिरुवा रोपेको थियो।
गाउँपालिकाले विद्यालय, सामुदायिक वन र स्थानीय समुदायसँगको सहकार्यमा वृक्षारोपण तथा संरक्षण अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।



लाइभदाङ । ३० असार २०८३, मंगलवार २१:३० बजे