
तुलसीपुर, २९ असार ।
दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले आर्थिक वर्ष २०८२/०८३ मा गरेका कामको सार्वजनिक गर्दै आर्युर्वेद प्रति आकर्षण बढेको जनाएको छ । सोमबार भएको सार्वजनिक सुनुवाईमा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तवले नागरिकको आयुर्वेदप्रति विश्वास बढिरहेको बताए । अस्पतालमा विरामीको आकर्षण बढेकै कारण लुम्बिनी प्रदेश सरकारले ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार चालु बर्षमा ९ हजार चारसय २ जनाले पाइल्स, फिस्टुला, ६ हजार ६ सय ६० जनाले अम्लपित्त र ६ हजार २ सय ३१ जनालालाई वातव्याधिको उपचार गराएको छ । उनले सबै गरि एक बर्षमा १ लाख ६२ हजार ५४२ जना बिरामीले सेवा लिएको जानकारी दिए ।
अस्पतालले परम्परागत उपचार मात्र नभई आधुनिक प्रविधिको प्रयोग गर्दै पूर्णकालीन पञ्चकर्म सेवा, क्षारसुत्र शल्यक्रिया र मानस रोग ९मनोचिकित्सा०जस्ता विशिष्टीकृत सेवाहरू समेत प्रदान गरिरहेको उनले बताए । साथै सेवाग्राहीको सहजताका लागि अस्पतालले ‘डिजिटल वडापत्र’ र ‘टोकन प्रणालीु लाग’ गरेको छ । जसले अस्पताललाई आधुनिक र प्रविधिमैत्री बनाएको छ । बाल स्वास्थ्य र प्रतिरोधात्मक क्षमता वृद्धिका लागि ५ हजार ३ सय ७९ बालबालिकालाई डिजिटल प्रणालीमार्फत स्वर्णविन्दु प्राशन गराइएको समेत डा। श्रीवास्तबले बताए । प्रयोगशाला सेवामा पनि व्यापक सुधार गरिएको उनले बताए । आधुनिक सीएलआईए, एनालाइजर र डिजिटल एक्सरे जस्ता उपकरणहरू थपिएपछि उपचारमा अझ बढी शुद्धता आएको उनले बताए । अस्पतालको सेवाको गुणस्तर मापन गर्ने एमएसएस स्कोर पनि सुधार भई ८४. ९३ पुगेको छ ।
चिकित्सालयलाई केही प्रशासनिक र भौतिक चुनौतीहरू भने रहेका छन् । डा. श्रीवास्तबका अनुसार हाल अस्पतालमा ३५ स्वीकृत दरबन्दीमध्ये २१ जना मात्र स्थायी कर्मचारी रहेका छन् । उनका अनुसार ११ औँ तहको निर्देशक लगायतका महत्वपूर्ण विशेषज्ञ पदहरू रिक्त रहेका छन् । सेवाको बढ्दो चापलाई धान्न अहिलेको अन्तरङ्ग भवन पुरानो र अपर्याप्त रहेको छ भने छुट्टै प्रशासनिक भवनको पनि आवश्यकता देखिएको उनले बताए ।
त्यस्तै आफ्नै औषधी उत्पादनका लागि निर्माणाधीन भवन हस्तान्तरण नहुनु र ढल व्यवस्थापनमा समस्या हुनु जस्ता पक्षहरूलाई अस्पतालले आगामी योजनामा समेटेर समाधान गर्ने लक्ष्य राखेको छ । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बिजौरीस्थित यस चिकित्सालयलाई आयुर्वेद शिक्षण अस्पतालको रूपमा विकास गर्ने बताए । उनले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आफ्नै फार्मेसी सेवा सुरुवात गर्ने तयारी भइरहेको समेत बताए ।
अस्पताल विकास समितिका अध्यक्ष हिमबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा साक्षी खबर साप्ताहिकका सम्पादक राकेश बस्नेतले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए, भने कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ अध्यक्ष शिवानन्द डीसी, तुलसीपुर–१९ का अध्यक्ष प्रेमनाथ योगी, नेपाली कांग्रेस तुलसीपुर–१८ का सचिव बिदुर गौतम, नेकपा एमाले तुलसीपुर–१८ का अध्यक्ष कमानसिं खड्का, सूचनापत्र साप्ताहिकका सम्पादक बंशीकुमार शर्मा, व्यवसायी मुकेश वली, स्थानीय शुसिला पौडेल लगायतले भनाई राखेका थिए । अस्पतालका डा। अर्जुन शर्माले स्वागत मन्तव्य बयक्त गरेको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बसन्त केसीले गरेका थिए ।



लाइभदाङ । २९ असार २०८३, सोमबार २२:०२ बजे