
तुलसीपुर,२८ असार ।
राप्ती परोपकार संस्था, दाङले किशोरीहरूको महिनावारी स्वास्थ्य तथा सरसफाइप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले राप्ती आँखा अस्पतालअन्तर्गत नेत्रज्योति प्राविधिक शिक्षालय, तुलसीपुर–४, दाङमा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ। राप्ती परोपकार संस्था, दाङका उपाध्यक्ष गोरख ओलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ, दाङका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्ती परोपकार संस्थाका सल्लाहकार सुरेश हमाल, सचिव राघव देवकोटा, सहसचिव क्षेत्र भण्डारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा राप्ती आँखा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालिग्राम गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी प्रा।डा। रञ्जित कुमार शाह तथा दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले शुभकामना मन्तव्य राख्दै किशोरीहरूको स्वास्थ्य, व्यक्तिगत सरसफाइ तथा सुरक्षित महिनावारी व्यवस्थापनबारे सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
प्रमुख अतिथि कृष्णकुमार गिरीले किशोरीहरूको स्वास्थ्य र सम्मानजनक महिनावारी व्यवस्थापन सुनिश्चित गर्न समुदाय, शैक्षिक संस्था र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सही ज्ञान र व्यवहार विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले सामाजिक उत्तरदायित्वका यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष गोरख ओलीले राप्ती परोपकार संस्था समाजका आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहेको बताउनुभयो। किशोरीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई विभिन्न विद्यालय तथा समुदायसम्म विस्तार गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
संस्थाका सल्लाहकार सुरेश हमालले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई लुकाउने वा संकोचको विषय नभई खुला रूपमा स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो। किशोरीहरूलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै सही जानकारी दिन सके उनीहरूको आत्मविश्वास र स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नुका साथै सुरक्षित महिनावारी व्यवस्थापन, व्यक्तिगत सरसफाइ तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ, दाङका सहसचिव प्रणव खड्का, सदस्य ध्रुव गौतम, सुरेन्द्र खड्का तथा ताराप्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी राप्ती परोपकार संस्था, दाङका कार्यक्रम संयोजक गणेश भण्डारी, सदस्य गौरव आचार्य, गणेश वस्नेत, सन्तोष चौधरी लगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन निराला आर्यालले गर्नुभएको थियो।



लाइभदाङ । २८ असार २०८३, आईतवार २१:१६ बजे