
सिसहनियाँ, २८ असार ।
दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले अस्पताल निर्माणमा योगदान पुर्याउने जग्गादाता र आर्थिक सहयोगदातालाई शनिबार सम्मान गरेको छ।
अस्पताल विकास समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले सम्मानपत्र, टीका, फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो।
सम्मानित हुने जग्गादातामा झकबहादुर सारू, कुमारी माया आचार्य, कालुप्रसाद चौधरी, देवप्रसाद चौधरी, गोविन्दबहादुर कुँवर क्षेत्री, मंगलप्रसाद चौधरी, संगीता चौधरी र पल्टुराम चौधरी रहनु भएको छ। त्यस्तै काभ्रेपलाञ्चोकका निर्माण व्यवसायी रविकुमार गौतमसहित ४४ जना आर्थिक सहयोगदातालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले अस्पतालको वर्तमान अवस्था जनस्तरबाट प्राप्त सहयोगको प्रतिफल भएको बताउनुभयो। उहाँले जग्गादाता, आर्थिक सहयोगदाता तथा स्थानीय समुदायको योगदानकै कारण अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभयो। स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउँदै उहाँले आगामी आर्थिक वर्षदेखि डायलाइसिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुशील केसीले अस्पतालले निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवासँगै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको बताउनुभयो। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको उहाँले उल्लेख गर्नुभयो।
सोही अवसरमा अध्यक्ष विष्टले ‘विपद् उद्धार शीघ्र परिचालन प्रणाली’ तथा ‘अनलाइन टोकन प्रणाली’ को उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले अस्पताल निर्माण तथा विस्तारमा जग्गादाता, आर्थिक सहयोगदाता र स्थानीय समुदायको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।



लाइभदाङ । २८ असार २०८३, आईतवार ०६:३४ बजे