गाउँ–गाउँ जाने पुरोहितहरु अहिले कक्षाकोठामा

दीपक बोहरा
दाङ,२८ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ टरिगाउँ निवासी यमराज उपाध्याय लामो समयदेखि पुरोहित काम गर्दै आएका छन् । सामान्य अध्ययनलाई आधार बनाएर उनले पुरोहितको काम गर्दै आएको भएपनि औपचारिक कक्षा भने थिएन । “सामान्य अध्ययन थियो, तर सबै अध्ययन थिएन”,उनले भने“हामीले काम गर्न लागेको बर्षौ भयो, तर, अहिलेसम्म पनि खास अध्ययन रहेनछ ।” उनले अहिले‘गुरुहरु’बाट आफूहरुले गरेको कामको कमीकमजोरी पत्ता लगाउने, सुद्ध उच्चारण गर्न सिक्ने अवसर प्राप्त गरेको बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.९ दोघरे निवासी गणेश आचार्यसंग पनि आफू २२ बर्षको उमेर हुँदादेखि नै पुरोहितको काम गरेको अनुभव छ । उनी अहिले ६० बर्षको हाराहारीमा पुगि सकेका छन् । तर, पुरोहितको कक्षा भने लिएका छैनन् । बाजे, वुवाहरुले गरेको देखेर उनले पुरोहितको काम गर्न थाल्नु थालेका थिए ।

यसरी लामो समयदेखि पुरोहित काम गरेको तर, औपचारिक कक्षा नलिएकाहरुका समाजमा धेरै छन् । उनीहरुले नै जन्म, मृत्यु, विवाहलगायतका पुजाआजामा पुरोहितको काम गर्दै आएका छन् ।


यसरी लामो समय पुरहितको काम गर्दै आएका तर, औपचारिक शिक्षा नलिएकाहरुलाई माध्यमिक तहको तालिम प्रदान गरिदै आईएको छ । जसले उनीहरुले गरिरहेको कामलाई थप प्रभाबकारी बनाउन मद्दत पुग्ने अपेक्षा लिईएको छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको जनता विद्यापीठ विजौरीले यसरी ६ महिने कक्षा दिएको प्रशिक्षक बद्रिप्रसाद गौतमले बताए । “उहाँहरुले गाउँ–गाउँमा कर्मकाण्ड गराउँदै आउनु भएको छ, यो समाजको सेवा पनि हो”,उनले भने “अब यो ६ महिनाको कोर्ष पूरा गरेपछि थप प्रभबाकारी बन्नुहुनेछ, भन्ने हाम्रो अपेक्षा छ ।” उक्त कक्षामा विगतदेखि पुरोहितको काम गर्दै आएका तथा नयाँ सिक्दै गरेकाहरुको समेत सहभागिता रहेको छ ।

गएको माघ १२ गतेदेखि यसरी पुरोहितलाई बैद्धिक कर्मकाण्डको कक्षा सञ्चालन गरिएको हो । जुन कक्षाको शनिबार प्रयोगात्मक कक्षा भएको हो । उनीहरुले ६ महिना पूरा गरेपछि मावि तहको कर्माकाण्डको प्रमाणपत्र समेत प्राप्त गर्ने प्रशिक्षक गौतमले बताए । हाल ४८ जना पुरोहित यसरी कक्षामा सहभागी भएका छन् ।