
दीपक बोहरा
दाङ, २७ असार ।
दाङको एक विद्यालयमा निर्वाचन गराउन विद्यालयको गेटमै पुगेका घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि एक जनप्रतिनिधिले मोबिल छ्यापेका छन् । घोराही उपमहानगरपालिका १५ का वडा सदस्य लेखनाथ बुढाथोकी(उत्तम)ले पद्मोदय माध्यमिक विद्यालय व्यबस्थापन समितिको निर्वाचन गराउन गएका निर्वाचन अधिकृत समेत रहेका बोहरा माथि शनिबार विहान मोविल छ्यापेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार विहान साढे ७ बजेतिर यसरी मोविल छ्यापिएको हो । मोविल छ्याप्ने वडा सदस्य बुढाथोकी अहिले फरार रहेको समेत प्रहरीले बताएको छ । यद्यपी खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
भित्र चुनाबको सुरक्षाकालागि प्रहरी समेत खटाईएको थियो । तर, बुढाथोकीलाई समात्न भने असफल भयो । घटना पदमोदय माविको गेटमै भएको थियो । अहिले विद्यालय ब्यबस्थापन समितिको निर्वाचन भइरहेको छ ।
निर्वाचन रोक्न वडा सदस्यको दवाव
वडा सदस्य बुढाथोकीले निर्वाचन रोक्न पटक–पटक दवाव दिएका थिए । उनले घोराही उपमहानगरपालिकामा पनि पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए । निवेदनमा हाल सञ्चालन भइरहेको निर्वाचन प्रक्रियामा आवश्यक रीत र प्रक्रिया नपुगेको उनको दावी थियो ।
स्थानीय सरकार सञ्चालन ऐनले विद्यालय सञ्चालनको अधिकार पालिकालाई दिएको भए तापनि उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी स्पष्ट कार्यविधि अझै तयार नपारेको अबस्थामा विद्यालयले कुन कार्यविधिमा टेकेर निर्वाचन प्रक्रिया अगाडि बढाएको हो भन्ने कुरा स्पष्ट नभएको उनले दिएको निवेदनमा उल्लेख छ ।
उनले २०८३ जेठ ११ गते कोरम नपुगेको अभिभावक भेलाबाट विद्यालय सहयोग समिति गठन गर्ने निर्णय गरिएको बताए । त्यसपछि असार १५ गते बोलाइएको अर्को भेलामा पनि मात्र ५.१ प्रतिशत अभिभावकको उपस्थिति रहेको र यस्तो न्यून उपस्थितिका बीच निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको उनको आरोप छ ।
विद्यालयले भेला बोलाउनुभन्दा तीन दिनअगाडि अभिभावकको नामावली सार्वजनिक गर्नुपर्ने र निर्वाचन सहयोग समिति गठन गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने परम्परागत र कानुनी मान्यतालाई समेत लत्याएको उनको दावी थियो ।
यही विषयलाई लिएर उनले शिक्षा अधिकृत माथि मोविल छ्यापेका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई यसरी नै मोविल छ्याप्ने समेत धम्की दिदै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।




लाइभदाङ । २७ असार २०८३, शनिबार १२:३५ बजे