दाङको बबईमा अटो दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

दाङ,२६ असार ।
दाङको बबईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी बबई गाउँपालिका ६ पंञ्चकुलेका अन्दाजी ३६ वर्षीय थमन भण्डारीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । उहाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

घाइते हुनेमा बबई–५ बबरपुरका ४० वर्षीय जयबहादुर राना, ४० वर्षीया भद्रकुमारी खड्का र २२ वर्षीय राजन खड्का रहेका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्य
भद्रकुमारी र राजन खड्काको अवस्था मध्यम रहेको छ भने रानाको अवस्था सामान्य छ ।
बबई गाउँपालिका–५ सानी ओकालीमा शुक्रबार हापुरेबाट बबरपुरतर्फ जाँदै गरेको लु।प्र।०२–००१ ह ११०५ नम्बरको अटो ब्रेक फेल भई सडकबाट करिब चार मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनापछि इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । अटो प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।