टरिगाउँ विमानस्थलः नियमित जहाज नउड्दा समस्यामा इन्धन डिपो

तुलसीपुर, २६ असार ।
दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपोलाई पनि समस्या हुने गरेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरेको भएपनि नियमित हवाई सेवा सञ्चालन नहुँदा चलाउन निकै समस्या पर्ने गरेको छ ।

कार्यालयका लेखा अधिकृत कैलास देवकोटाका अनुसार गएको बैशाख महिनामा एक हजार लिटर मात्रै विक्री भएको थियो, भने जेठ महिनामा अहिलेसम्म ६ सय ६० लिटर र असारका अहिलेसम्म ८ सय ३४ लिटर मात्रै विक्री भएको छ ।

गएको आर्थिक बर्ष २०८१/०८२ मा १७ हजार नौ सय ९ लिटर विक्री भएको थियो । चालु आर्थिक बर्षमा भने ३४ हजार ३४ लिटर विक्री भएको छ । चालु बर्षको मासिक विक्री दर २ हजार ८ सय ४६ लिटर रहेको छ ।


नियमित जहाज आएमा विक्री दर पनि बढ्ने र डिपोलाई पनि आम्दानी हुने उहाँको भनाई छ । तर, हाल नियमित नहुँदा समस्या हुने गरेको छ । हप्तामा चार दिन जहाज आउने भनिएपनि कहिल्यै दुई दिन मात्रै आउने, कुनै हप्ता नआउने समस्या रहेको उहाँको भनाई छ ।

हाल इन्धनको लिटरको दुईसय ६९ रुपैँया रहेको छ । यसरी हेर्दा महिनामा ७ लाख ६२ हजारको कारोबार हुने गरेको छ ।