क्यान्सरपीडित अभिभावकलाई मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलद्वारा रु ५१ हजार ३०० आर्थिक सहयोग

घोराही, २२ असार ।
दाङको घोराहीस्थित मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थी किरण घर्ती र हुकुम घर्तीका बुबा प्रकाश घर्ती मगर, जो हाल क्यान्सर रोगसँग संघर्षरत हुनुहुन्छ, उहाँको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रु ५१ हजार ३०० आर्थिक सहयोग हस्तान्तरण गरेको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको स्वेच्छिक सहयोगबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच पीडित प्रकाश घर्ती मगरकी धर्मपत्नी हिमकुमारी घर्तीलाई हस्तान्तरण गरिएको हो। विद्यालय परिवारले दुःखको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम प्रदान गरेको जनाएको छ।

विद्यालयका प्रधानाध्यापक चक्र बहादुर रावतका अनुसार कुल संकलित रु ५१ हजार ३०० मध्ये विद्यार्थीहरूबाट रु १३ हजार र शिक्षकहरूबाट रु ३८ हजार ३०० संकलन गरिएको हो। शिक्षक र विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग जुटाएको भन्दै उहाँले यस अभियानले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा मानवीय भावना, सामाजिक उत्तरदायित्व तथा सहयोगको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आर्थिक सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गर्दै प्रकाश घर्ती मगरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।


सहयोग ग्रहण गर्दै हिमकुमारी घर्तीले कठिन परिस्थितिमा विद्यालय परिवारले देखाएको आत्मीयता र सहयोगप्रति भावुक हुँदै हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले उपचारका क्रममा आर्थिक अभाव झेलिरहेको अवस्थामा विद्यालय परिवारबाट प्राप्त सहयोगले ठूलो हौसला र राहत मिलेको बताउनुभयो।मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुलले शिक्षा प्रदान गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै दुःखमा परेका विद्यार्थी तथा अभिभावकहरूको साथमा उभिने परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ। विद्यालय परिवारको यस मानवीय कार्यको स्थानीय समुदायले समेत प्रशंसा गरेको छ।