शान्तिनगरको विषय परिबर्तनको फाईल पुनः फिर्ता

दाङ, २० असार ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित जनकल्यान मावि सिमसुन्दरपुरमा रहेको अंग्रेजीको दरबन्दीलाई गणित बनाएर शिक्षा विकास तथा समन्वय इकाइ दाङमा पठाईएको फाइल दोस्रो पटक फिर्ता आएको छ । इकाइका सूचना अधिकारी टिकाराम बञ्जाडेका अनुसार केही दिन अघि मात्रै अंग्रेजी विषयलाई गणित बनाएर नजिकैको बालकल्यान आधारभूत विद्यालय पेदामा सार्ने गरि शान्तिनगर गाउँपालिकाको शिक्षा समितिले निर्णय गरि फाईल इकाइमा पठाएको थियो । त्यो फाईल फिर्ता गरिएको उनले बताए । त्यसमा विषय परिबर्तनको कुनै कानुनी आधार नभएको फिर्ता पठाईएको उनले बताएका छन् ।

विषय परिबर्तन गरेको सूचना पाएपछि विरोध भएको थियो । ९ असारमा मात्रै अभिभावक, विद्यार्थी र शिक्षकहरु पालिका पुगेर अध्यक्ष प्रमोद बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए । पटक–पटक अभिभावक, शिक्षक, विद्यार्थीहरुले झक्झक्याउने कार्य पनि गरिरहेका थिए । विद्यालयका प्रधानाध्यापक निमबहादुर केसीका अनुसार अहिले विद्यार्थी संख्या ६ सयको हाराहारीमा रहेको भन्दै अंग्रेजी विषय अन्यत्र सार्न नहुँने तर्क गरेका थिए ।

छैन, अंग्रेजीको शिक्षक
विद्यालयमा अंग्रेजीको शिक्षक नभएपछि पुस महिनादेखि अंग्रेजीको पढाईमा समस्या भएको छ । त्यहाँ विज्ञापन खोलेपनि शिक्षक नआएपछि अंग्रेजी विषय पढाई भएको छैन । अब दोस्रो पटक फाईल फिर्ता आएपछि सोही विद्यालयमा अंग्रेजीकै शिक्षक ल्याउने गरि प्रक्रिया अघि बढाउने पालिकाका शिक्षा शाखा प्रमुख सुमन पाण्डेल बताए ।“फाईल फिर्ता आएको भन्ने सुनिएको छ, हामीकहाँ त अझै पुगेको छैन”,उनले भने“त्यो आइपुगेपछि अब अंग्रेजीकै शिक्षक ल्याउने हो ।”

किन खाली भयो अंग्रेजी ?
उक्त विद्यालयमा निमाविका अंग्रेजी शिक्षक लिलबहादुर केसीले गएको बर्ष मंसिर १६ गतेदेखि लागु हुने गरि स्वैच्छिक अबकास लिए । उनले अबकास लिएपछि अंग्रेजी विषयको दरबन्दी रिक्त भयो । त्यसपछि पुस ४ गते बसेको विद्यालय ब्यबस्पान समितिको बैठकले सोही विद्यालयमा अंग्रेजी विषयको शिक्षक ब्यस्थापन गर्ने गरि त्यहाँको निमावि अंग्रेजी विषयलाई निमावि गणितमा रुपान्तरण गर्ने गरि निर्णय ग¥यो । त्यही निर्णयलाई आधार बनाएर विद्यालयका प्रधानाध्यापक निमबहादुर कसीले पालिकालाई विषय परिबर्तनकालागि चिठी लेखे । त्यसपछि विद्यालयमा विषय परिबर्तनकालागि भनेर अनुमोदनकालागि फाईल जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ घोराही पठाईयो । तर, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले पुस ३० गते त्यसरी विषय परिबर्तन गर्न सकिने कानुनी ब्यबस्था समेत नभएको कुरालाई उल्लेख गर्दै सक्कलै फाईल नै फिर्ता पठाइदियो ।
त्यसपछि विषय परिबर्तन गर्ने ‘च्याप्टर क्लोज’ भयो ।


पालिकाले पुरानै अंग्रेजीको दरबन्दीमा विज्ञापन समेत खोल्यो । साविककै दरबन्दीमा आउन चहाने शिक्षकहरुकालागि विज्ञापन गरिदिन माघ ४ गते पालिकालाई विद्यालयले चिठि लेखेपछि फागुन २९ गते १५ सरुवा सम्बन्धि सूचना पनि आह्वान गरियो ।

जसमा त्यसमा ८ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सबै भन्दा बढि सेवा अबधी पूरा गरेर दरिभान केसीलाई ल्याउने निर्णय भयो । तर, उनी केही समय पछि नआउने भन्ने जानकारी आयो । उनी नआएपछि पालिकाले उक्त दरबन्दीलाई पुनः गणित बनाएर आधारभूत विद्यालय पेदामा पठायो । त्यो फाईल जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पठायो । तर, अहिले पनि त्यो फाईल फिर्ता आयो ।

यद्यपी शान्तिनगर गाउँपालिका प्रमुख प्रमोद बस्नेतले यस अघि नै विद्यालयले पनि सहमति दिने कुरा गलत रहेको        बताए ।“पहिले आबश्यक छैन, विषय परिबर्तन गरौं भनेर निर्णय गर्ने, अनि अहिले फेरि किन सारेको भनेर विरोध हुने कुरा प्रबृतिगत कुरा हुन”,उनले भने“विरोधकालागि विरोध होईन्, विधिको विरोध गर्दा राम्रो हुन्छ ।”