लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माण कार्य अविलम्ब सुचारु नगरे आन्दोलनमा जान्छौंः नेकपा

दाङ, १ पुष ।
नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माण कार्य अविलम्ब सुचारु नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

नेकपा दाङका सेक्रेटरी जनक सीले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माण लापरबाही गरि निर्माण कार्य अविलम्ब सुचारु नगरे चरणबद्द आन्दोलन र संघर्षमा जाने सबै सरोकारवाला निकायलाई जानकारी गराउनुभएको छ ।


बिज्ञप्तिमा भनिएको छ– ‘लमही–घोराही–तुलसीपुर चारलेन सडक निर्माण कार्यमा भइरहेको लापरबाही र ढिलासुस्तीका कारण हजारौं जनताले दुख पाउनुका साथै सडकमा उडेको धुलोले जनस्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको छ । सम्बन्धित सरोकारवाला निकायहरुको लापरबाहीको कारण जनतालाई पर्न गएको असरप्रती नेपाल कम्युनिस्ट पार्टी दाङको ध्यानाकर्षण भएको छ । त्यसैले सम्बन्धित परियोजना, सम्बन्धित निर्माण व्यवसायी, सम्बन्धित सरकारी निकाय अथवा सम्बन्धित सबै सरोकारवाला निकायहरु यस विषयमा जिम्मेवार भइ अविलम्ब सडक निर्माण कार्य सुचारु गर्न अनुरोध गर्दछौं । यस जनसरोकारको विषयमा लापरबाही गरि सडक निर्माण कार्य सुचारु नगरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने सबै सरोकारवाला निकायलाई जानकारी यसै बिज्ञप्ती मार्फत गराउदछौ ।’

साथै बिज्ञप्तिमा अविलम्ब सडक निर्माण कार्य सुचारु नगरे आन्दोलन र संघर्षबाट निस्कने परिणामको भागिदार सम्बन्धित सरोकारवाला निकायनै हुनुपर्ने चेतावनी समेत नेकपाले दिएको छ ।