लमहीमा पाँच दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

लमही ,१७ असार ।
लमही नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित पाँच दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले तालिमले सहभागीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सार्वजनिक रूपमा आफ्नो विचार प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो । महिला तथा युवाहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमका प्रमुख प्रशिक्षक डा। सुदीप गौतमले उद्घोषण कला केवल कार्यक्रम सञ्चालन गर्ने सीप मात्र नभई व्यक्तित्व निर्माण, प्रभावकारी सञ्चार र नेतृत्व विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो । उहाँले निरन्तर अभ्यास, अध्ययन र आत्मविश्वासका माध्यमबाट मात्र सफल उद्घोषक बन्न सकिने उल्लेख गर्दै तालिममा सिकेका विषयलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई सुझाव दिनुभयो ।


तालिममा सहजीकरण गर्नुभएका पत्रकार दशरथ घिमिरेले उद्घोषकका लागि स्पष्ट उच्चारण, शुद्ध भाषा, समय व्यवस्थापन र प्रस्तुतीकरण शैली अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सञ्चार सीपले व्यक्तिलाई समाजमा छुट्टै परिचय स्थापित गर्न सहयोग गर्ने भएकाले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

सहभागीको तर्फबाट मन्तव्य व्यक्त गर्दै सुलोचना गिरीले पाँच दिनको तालिम अत्यन्त उपलब्धिमूलक रहेको बताउनुभयो । तालिमले आफूहरूमा बोल्ने आत्मविश्वास बढाउनुका साथै कार्यक्रम सञ्चालन गर्ने व्यावहारिक सीप समेत प्रदान गरेको उहाँको भनाइ थियो । यस्ता तालिमलाई आगामी दिनमा अझ व्यापक बनाउँदै निरन्तर सञ्चालन गर्न नगरपालिकासँग उहाँले आग्रह गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा लमही नगरपालिका १ देखि ९ नम्बर वडासम्मका करिब ४० जना सहभागी रहेका थिए । तालिममा उद्घोषण कला, प्रभावकारी सञ्चार, व्यक्तित्व विकास, मञ्च प्रस्तुतीकरण तथा सार्वजनिक बोलाइसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । समापन कार्यक्रमको सञ्चालन पत्रकार प्रिया स्मृती गजमेरले गर्नुभएको थियो ।