
तुलसीपुर, १७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले पाँचसय फलामे चुलो वितरण गरेको छ । १९ वटै वडामा दामासाही हिसाबले यसरी फलामे चुलो वितरण गरिएको फोकल पर्सन टेकबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक वडामा २६ वटाका दरले चुलो वितरण गरिएको छ, भने बाँकी रहेको चुलोहरुलाई आबश्यकताका आधारमा वितरण गरिएको हो । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, हरित जलबायु कोष र तुलसीपुर उपमहानगरपालि एवं उपभोक्ताको लागत सहभागितामा उक्त चुलो वितरण गर्ने गरिएको हो ।
यसमा १५ प्रतिशत उपमहानगरपालिकाको, ५ प्रतिशत उपभोक्ताको र बाँकी बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र हरित जलबायु कोषले व्यहोर्दै आएको छ । यो चुलो प्रयोग गरेमा दाउरा निकै कम लाग्ने गर्छ । विद्युतबाट जोडेर हावा दिने र त्यसको सहायताले आगो बल्ने गर्छ । जसले गर्दा दाउरा तथा गुइँठाको बचत हुने भएकाले नागरिकको माग अनुसार यो कार्यक्रम लागु गरिएको फोकल पर्शन खड्काले बताउनुभयो ।
चालु बर्षदेखि यो कार्यक्रम सुरु भएको भन्दै यो क्रम पाँच बर्षसम्म चल्ने उहाँको भनाई छ । त्यस्तै केही समयमा विद्युतिय (इन्डेक्स) चुलो समेत वितरण गर्ने कार्यक्रम रहेको छ । तुलसीपुरमै १२ वटा बायोग्यास प्लान्ट निर्माण गर्ने समेत कार्यक्रम रहेको छ । त्यसकालागि तुलसीपुर ३ मा ३ वटा, ४ मा ३ वटा र १० मा ५ वटा निर्माण गर्ने उहाँको भनाई छ । अझै पनि दाउराबाट खाना पकाउने समाज रहेको भन्दै त्यसलाई सहज बनाउनकालागि यस्तो कार्यक्रम ल्याईएको हो ।



लाइभदाङ । १७ असार २०८३, बुधबार ०६:१३ बजे