
तुलसीपुर, १३ असार ।
दाङको तुलसीपुरमा प्रहरीले अवैध हातहतियार विरुद्धको निगरानी बढाउने क्रममा एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा अवैध हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा प्रहरीले उक्त कारबाही अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले सो क्षेत्रमा छापा मारेको थियो।
प्रहरी टोलीले स्थानीय ४२ वर्षीय डम्मर बहादुर विकको घरमा खानतलासी तथा सोधपुछ गर्दा घरभित्र लुकाएर राखिएको अवस्थामा ४ फिट ३ इन्च लम्बाइ भएको एकनाले भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले उक्त अवैध हतियार कानुनी प्रक्रिया र मुचुल्का तयार गरी आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।
हातहतियारसहित पक्राउ परेका विकलाई हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप कानुनी कारबाही अगाडि बढाइएको छ। उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।



लाइभदाङ । १३ असार २०८३, शनिबार २१:१६ बजे