
तुलसीपुर,१४ असार ।
बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ्न थालेपछि अब देशभर मनसुन फैलिने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी मंगलबार र बुधबार देशभर वर्षाको सम्भावना छ। यस प्रणालीका कारण दुई दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित ठुलो वर्षा तथा एक-दुई स्थानमा भीषण वर्षाको प्रक्षेपण गरिएको छ।
महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाडी भूभागलाई नक्सामा सुन्तला रंगको चिह्नमा वर्गीकरण गरेको छ। यी क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ। आज आइतबार राति कोशीका पहाडी र तराईका एक-दुई स्थानमा ठुलो वर्षाको सम्भावना छ। अन्य पहाडी, हिमाली र तराईका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको पूर्वानुमान छ।
भोलि सोमबार कोशी, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। कोशी र मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ।
मंगलबार पहाडी र हिमाली भेगका धेरै तथा तराईका केही स्थानमा वर्षा जारी रहनेछ। मंगलबार राति कोशी प्रदेशका थोरै स्थानमा ठुलोदेखि भीषण वर्षा र मधेश, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ठुलो वर्षाको सम्भावना छ।



लाइभदाङ । १४ असार २०८३, आईतवार २३:२३ बजे