व्यावसायिक हितका लागि दलगत स्वार्थभन्दा माथि उठेर एकता आवश्यक: नगर प्रमुख खड्का

बिजौरी, १३ असार ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले व्यवसायीहरूको हकहित र अधिकार संरक्षणका लागि आपसी सहकार्य र बलियो एकता अनिवार्य रहेको बताएका छन्। बिजौरी उद्योग वाणिज्य संघको १३औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नगर प्रमुख खड्काले यस्तो धारणा राखेका हुन्। उनले व्यवसायीहरू दलीय राजनीतिभन्दा माथि उठेर एकजुट हुन सकेमा मात्रै उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान हुने उल्लेख गर्दै नेतृत्व चयन गर्दा दलीय भागबन्डाभन्दा पनि सिंगो व्यावसायिक एकता र सहमतिको बाटो रोज्नु उत्तम हुने सल्लाह दिए।

साधारणसभाकै अवसरमा नगर प्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ सँगको सह(लगानीमा हाडिमे चोकमा निर्माण गरिएको सांकेतिक गेटको रिबन काटेर उद्घाटन समेत गरे। सुरक्षाका लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको उक्त नवनिर्मित गेटले दाङ, रोल्पा र प्युठानलाई यातायात सञ्जालसँग जोड्नुका साथै यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रमा दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रुद्र शर्मा, नारायणपुर उवासंघका अध्यक्ष अनिल बस्नेत, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रा.ली. का अध्यक्ष सुरेश हमाल र बिजौरी उवासंघका पूर्व अध्यक्ष मुकेश वलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


यसैगरी कार्यक्रममा बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतम, संघकी संस्थापक उपाध्यक्ष पुष्पा डाँगी, नेपाली कांग्रेस तुलसीपुर–१८ का सभापति वीरेन्द्र खड्का, नेकपा माओवादी केन्द्रका लालबहादुर थारू, रास्वपा दाङका सदस्य रवीन्द्र केसी र नेकपा तुलसीपुर–१८ का सचिव गिरिराज नेपाली लगायतका वक्ताहरूले पनि आ(आफ्नो धारणा राखेका थिए। संघका वाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासचिव दीपक कुमार बस्नेतले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कर्ण बहादुर वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

६ सय ८३ जना उद्योगी तथा व्यवसायीहरू आबद्ध रहेको यस संघको कार्यक्रममा उद्योग उपाध्यक्ष चित्र खड्काले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव बस्नेतले नै गरेका थिए। सो विशेष समारोहमा विगत लामो समयदेखि बिजौरी क्षेत्रमा व्यवसाय गर्दै आएका पुराना व्यवसायी हेमराज न्यौपानेलाई उनको उल्लेखनीय योगदानको कदर गर्दै भव्य सम्मान समेत गरिएको थियो।