
आलोक भावुक
गढवा,१४ असार ।
गढवा गाउँपालिकाको आयोजनामा उत्सवमय जुन महिनाको अवसरमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाले उनीहरूको अधिकार, सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन गर्दै समावेशी समाज निर्माणमा स्थानीय तह प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद, दुर्व्यवहार वा हिंसा हुन नहुने बताउनुभयो। उहाँले सबै नागरिकलाई कानुनले समान अधिकार प्रदान गरेको उल्लेख गर्दै यस्ता समुदायका व्यक्तिहरूले भोग्ने समस्या समाधानमा प्रहरी प्रशासन सधैं सहयोगी रहने धारणा राख्नुभयो। यस खालको अभिमुखीकरण कार्यक्रम प्रहरी जवानलाई दिन पनि आग्रह गर्नु भयो। कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रा केसी, वडा नं. ६ का वडा सदस्य दिनमणी आचार्य लगायतले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजमा सकारात्मक सोचको विकास आवश्यक रहेको भन्दै उनीहरूको अधिकार र सम्मान सुनिश्चित गर्न सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभएको थियो।
मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरीले सहजीकरण गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था, अधिकार, चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले विविधताको सम्मान र समान व्यवहारबाट मात्रै समतामूलक समाज निर्माण सम्भव हुने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार, समान अवसर र सुरक्षित वातावरण निर्माणका लागि सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकी, वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, कार्यपालिका सदस्य चन्द्रा केसी, वडा सदस्यहरू, मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरी,टिला भुषाल , लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।



लाइभदाङ । १४ असार २०८३, आईतवार १८:५९ बजे