राप्तीका ३ वटा वडाहरु एकैसाथ शून्य होम डेलीभरी वडा घोषणा

तुल बहादुर कवँर मगर
भालुबाङ, २३ असार ।
दाङको राप्ती गाउँपालिकाका ३ वटा वडाहरुलाई एकैसाथ शून्य होम डेलीभरी वडा घोषणा गरिएको छ। शनिबार गाउँपालिकाको कार्यालय मसुरीयामा एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ४,७ र ८ लाई शून्य होम डेलीभरी अर्थात् संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरिएको हो।

चालु आर्थिक वर्षमा उक्त वडाका ३ सय ५९ जना गर्भवती महिलाहरु मध्ये सबेैले स्वास्थ्य संस्थामै सुत्केरी गराएका पछि शून्य होम डेलीभरी वडा घोषणा गरिएको हो।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र स्वास्थ्य शाखा प्रमुख नारायण राउतले उक्त वडामा सञ्चालित आधारभूत स्वास्थ्य इकाईहरुलाई शून्य होम डेलीभरी वडाको प्रमाणपत्र प्रदान गर्नुभयो।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सीताराम चौधरीको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले परम्परागत रूपमा घरमै सुत्केरी हुँदा आमा र शिशु दुवै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो रुपमा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने बताउनुभयो ।

पालिकाको स्वास्थ्य क्षेत्रले विगतका वर्षहरु देखि नै जिल्लामै लगातार उत्कृष्ट कार्य गरिरहेको बताउदै उपाध्यक्ष चौधरीले यस कार्यमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाहरुलाई धन्यवाद समेत दिनुभयो।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले आगामी दिनमा पालिकालाई नै शून्य होम डेलीभरी पालिका घोषणा गर्ने लक्ष्य रहेकाले सबै पक्ष थप समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।


घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिलाहरु जानकार बनेपछि उनीहरू सुत्केरी हुन स्वास्थ्यचौकीमै पुग्न थालेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताउनुभयो ।

त्यस्तै उहाँले महिलाले स्वस्थ्य संस्थामै नियमित स्वास्थ्य जाँच गर्ने र प्रसूति सेवा लिने भएकाले मातृशिशु मृत्युदर समेत घटेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चौधरी,स्वास्थ्य शाखा सह(संयोजक तथा सिनियर अनमि निरीक्षक भारती सन्यासी,भालुबाङ स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,सिअहेब अधिकृत धन बहादुर बुढा क्षेत्री,जनस्वास्थ्य निरीक्षक पोषणराज शर्मा,स्वास्थ्य इकाईका प्रमुख,महिला स्वयंसेवीका,आमा समूहरु लगायतको सहभागीता रहेको थियो ।

यस अघि नै गाउँपालिकाको वडा नम्बर ६ लाई लुम्बिनी प्रदेशकै पहिलो वडाको रुपमा शून्य होम डेलीभरी वडा घोषणा गरिसकिएको छ।