
मसुरिया, १० असार ।
दाङको राप्ती गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज, प्रभावकारी तथा गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ४ मा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत आगामी असार १३ गते शनिबार राप्ती–४ स्थित श्री जनज्योति आधारभूत विद्यालय, नयाँगाउँमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म शिविर सञ्चालन गरिने भएको हो।
शिविरमा नसर्ने रोगहरूको स्क्रिनिङ, स्वास्थ्य जाँच तथा उपचार, औषधि वितरण, जन्म, मृत्यु, बसाइँसराइ तथा विवाह दर्तासम्बन्धी जानकारी प्रदान गरिनेछ। साथै पशु स्वास्थ्य जाँच, परजीवी नियन्त्रण तथा निःशुल्क औषधि वितरण, बाली उपचार, माटो परीक्षण तथा जैविक विषादी वितरणका सेवा पनि उपलब्ध गराइनेछन्।
त्यसैगरी रोजगार तथा वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
एकै स्थानबाट बहुक्षेत्रीय सेवा प्रवाह गरी नागरिकको समय, श्रम र खर्च बचत गर्ने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकाले शिविरमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ।




लाइभदाङ । १० असार २०८३, बुधबार २०:२० बजे