कपुरकोटमा बुधबारदेखी हराइरहेका नेपाली जंगलमा मृत अवस्थामा फेला

सल्यान, २१ फागुन ।

गएको बुधबार बेलुकिदेखी हराइरहेका कपुरकोट २ सल्यानका एक व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन । कपुरकोट २ भकम गाउँ निवासी ६४ बर्षिय मेवालाल नेपाली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोही वडाको फुर्केमेल सामुदायिक बनमा नेपालिको शव शनिबार बिहान करिव ९ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारि दिए ।


बाँस काट्न भन्दै बुधबार दिउँसो घरबाट निस्कीएका नेपाली घर नफर्किएपछी घरपरिवारले प्रहरिलाइ खबर गरेका थिए । बिहिबारदेखी प्रहरी र स्थानियले खोजिकार्य गर्दा शनिवार शव फेला परेको मृतक नेपालिका छोरा बिरेन्द्र मावी गर्पाका प्रअ डिल बहादुर नेपालिले जानकारी दिए । घर देखि करिव ढाइ किलोमिटर पश्चिम स्थित फुर्केमेल सामुदायिक बनको छांगा भन्दा तल शव भेटिएको हो ।

परिवारले भने घटना संकास्पद रहेको बताएका छन् । प्रहरीले शनिबार नै प्रारम्भीक मुचुल्काको कार्य गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको छ । घटनाबारे अनुसन्धान अधिकृतको टोलिले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।