
प्रिया स्मृती गजमेर
देउखुरी, १० असार ।
वन संरक्षणमा समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । मंगलबार डिभिजन वन कार्यालय देउखुरीद्वारा गढवामा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा समन्वय बैठकमा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले वनलाई वातावरणीय सन्तुलन, कृषि उत्पादन, जलस्रोत संरक्षण तथा जैविक विविधताको प्रमुख आधारका रूपमा व्याख्या गर्नु भयो । उहाँले वन संरक्षणसँगै वनजन्य स्रोतको दिगो उपयोगमार्फत स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । अध्यक्ष पोख्रेलले वन क्षेत्रको संरक्षण सरकारी निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले वन क्षेत्रमाथि बढ्दो मानवीय दबाब, वन अतिक्रमण, डढेलो, अवैध कटानी तथा वन्यजन्तुसम्बन्धी चुनौतीहरूको सामना गर्न सबै निकायबीचको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा नागरिक समाजबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुसालले नेपालमा सामुदायिक वन व्यवस्थापनको अभ्यास विश्वमै उदाहरणीय रहेको उल्लेख गर्दै वन संरक्षणमा उपभोक्ता समूहहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सामुदायिक वनले वन क्षेत्रको विस्तार, हरियाली संरक्षण तथा स्थानीय समुदायको आयआर्जनमा उल्लेखनीय भूमिका खेलेको बताउँदै सामुदायिक वन उपभोक्ता समूहलाई अझ अधिकारसम्पन्न र स्रोतसाधनयुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले वन अपराध नियन्त्रणका लागि सुरक्षा निकाय निरन्तर सक्रिय रहेको बताउनुभयो । वन क्षेत्रको अवैध दोहन, चोरीनिकासी तथा वन्यजन्तुसम्बन्धी अपराध रोक्न प्रहरी प्रशासनले आवश्यक निगरानी तथा कानूनी कारबाहीलाई प्रभावकारी बनाइरहेको जानकारी दिनुभयो । उहाँले वन संरक्षणको कार्यमा स्थानीय समुदायको सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै कुनै पनि अवैध गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
गढवा गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले वन क्षेत्र स्थानीय समुदायको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो । उहाँले वनबाट प्राप्त हुने घाँस, दाउरा, जडीबुटी तथा अन्य वनजन्य वस्तु ग्रामीण जनजीवनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षणमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाकी अध्यक्ष पुष्पा यादवले वातावरणीय संकट, जलवायु परिवर्तन तथा प्राकृतिक स्रोतको संरक्षण आजको प्रमुख आवश्यकता बनेको बताउनुभयो । उहाँले वन संरक्षणका कार्यक्रमहरूमा महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
स्थानीय वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माले सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वन संरक्षणका क्रममा देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला निकायबीच नियमित संवाद र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ फरेस्टर खिमराज कँवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा सब डिभिजन वन कार्यालयका प्रमुख अनन्तबहादुर डाँगीले गर्नुभएको थियो । कार्यक्रममा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, वन अपराध नियन्त्रण तथा समुदायको सहभागिता अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।



लाइभदाङ । १० असार २०८३, बुधबार ०६:३७ बजे