लमही क्रिकेट मैदान चाँडै क्यानलाई हस्तान्तरण गर्छौं -नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
देउखुरी,९ असार ।
वाइवाइ यू – १९ पुरुष लुम्बिनी प्रदेश स्तरीय एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता आजदेखि दाङको लमही क्रिकेट मैदानमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले लमही क्रिकेट मैदानलाई छिट्टै नेपाल क्रिकेट संघ ९क्यान० लाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले क्यानका पदाधिकारीहरूसँग यस विषयमा निरन्तर संवाद भइरहेको बताउँदै मैदान हस्तान्तरणको काम यथाशीघ्र सम्पन्न गरिने बताउनुभयो ।

“लमहीको क्रिकेट मैदान नेपालकै नमूना मैदानमध्ये एक हो । तर हामीले यसको सम्भावनाअनुसार प्रयोग गर्न सकेका छैनौं । क्यानको जिम्मामा गएपछि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना हुनेछन् र यस क्षेत्रको खेलकुद विकासले नयाँ गति लिनेछ,” नगर प्रमुख चौधरीले भन्नुभयो ।

उहाँले लमही क्रिकेट मैदानले देउखुरी क्षेत्रका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेलाडीहरूको क्षमता विकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।


नगर प्रमुख चौधरीले लमही क्रिकेट मैदानलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै खेल पूर्वाधारको संरक्षण, विस्तार तथा व्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । मैदान क्यानको मातहतमा गएपछि यहाँ नियमित रूपमा ठूला प्रतियोगिता सञ्चालन हुने र त्यसले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै क्षेत्रको आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलास रोका मगर तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँले लमही क्रिकेट मैदान क्यानको जिम्मामा आएपछि विभिन्न राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता सञ्चालन गर्न सहज हुने धारणा राख्नुभयो।

लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, देउखुरी क्रिकेट क्लबका अध्यक्ष प्रकाशकुमार जिसी, लमही नगरपालिकाका शिक्षा अधिकृत केशव लम्साल, देउखुरी वारियर्सका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा दाङ, बाँके र बर्दियाका तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसैबीच लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूको छनोट प्रतियोगिता भैरहवामा सञ्चालन भइरहेको छ ।