कृषि क्षेत्रमा लगानी गर्नुस् बजार सुनिश्चित गर्छौ : नगरप्रमुख खड्का

तुलसीपुर, ५ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बैंकहरुलाई कृषि,उद्यम क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । पालिकाको समन्वयमा आयोजना गरिएको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले बैंकिङ क्षेत्रलाई उद्यम,कृषि क्षेत्रमा गरिएको लगानीको बजार सुनिश्चिताको वातावरण पालिकाकोतर्फबाट गरिने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित क्षेत्रमै पुग्नका लागि सुरक्षाको प्रबन्ध गरिने बताउनुभयो । खड्काले भन्नुभयो –पछिल्लो समयमा दुध,तरकारी फलफूल बजार व्यवस्थापनका लागि पालिकाकोतर्फबाट विभिन्न स्थानमा हाट बजार सञ्चालनको प्रयास भइरहेको बताउनुभयो । खड्काले कृषि र उद्यम क्षेत्रमा भूमिहीनहरुका लागि विना धितोमा कर्जा प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गत वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरण नभएका कारण आठ सय ५० जना वञ्चित भएको भन्दै नवीकरण गर्ने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बैकका प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित ठाउँमै पुगनका लागि सुरक्षाको प्रबन्ध गर्न, पालिकाले सम्पूर्ण बैंकहरुलाई आफ्नो सेवा प्रवाहमा जोड्न आग्रह गर्नुभएको थियो । साथै वास्तविक किसानहरु समक्ष कर्जा लगानीको वातावरण सुनिश्चिता गर्न आग्रह गर्नुभएको थियो । तुलसीपुर क्षेत्रमा रहेका २० वटा बैकका प्रमुखहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको संयोजन तुलसीपुर बैकर्स क्लबले गरेको थियो ।